तपाईँ सुन्दै हुनुहुन्छः

तीन सय बढी नागरिकको क्वारेन्टाइनमा बसाई लम्बियो


बैतडी । बैतडीका तीन सय बढी नागरिकको क्वारेन्टाइनमा बसाई लम्बिएको छ । सुदूरपश्चिममा स्वाब संकलन कार्य रोकिएपछि आरडीटी पोजेटिभ देखिएका नागरिक क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका झण्डै तीनसय नागरिकको आरडीटी रिपोट पोजेटिभ आएपछि उनीहरुलाई १४ दिनपछि पनि क्वारेन्टाइनमै राखिएको छ । आरडीटी रिपोट पोजेटिभ आएपछि आफूह्रुको स्वाब संकलन नगरिएको र क्वारेन्टाइनमै राखिएको दोगडाकेदार ७ का दामोदर भट्टले बताउनुभयो ।

जिल्लाको शिवनाथ गाउँपालिकाका एकसय बढी नागरिक क्वारेन्टाइनको अवधि पछि पनि क्वारेन्टाइनमै बस्न बाध्य भएका छन् । आरडीटी पोजेटिभ देखिएकाहरु उनीहरुले पनि छिटो स्वाब संकलन गरेर परीक्षण गर्न माग गरेका छन् । क्वारेन्टाइनमा बसेका नागरिकमध्ये आरडीटी पोजेटिभ देखिएकाहरुको स्वाब संकलन नहुँदा क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताउनुभयो ।

आरडीटी पोजेटिभ देखिएका नागरिकको स्वाब संकलन गर्ने नीति भएको भएपनि प्रदेश स्वास्थ्य निर्देशनालयले ५ दिनका लागि स्वाब संकलन रोकेकाले क्वारेन्टाइनमा आरडीटी पोजेटिभ देखिएकाहरुको स्वाब संकलन हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वाब संकलन रोकिएपछि उनीहरु आक्रोशित समेत भएका छन् ।

आरडीटी पोजेटिभ देखिएकाहरु मानसिक रुपमा समेत समस्याग्रस्त हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताउनुभयो । उनीहरुको छिटो स्वाब संकलन गरेर कोरोना परीक्षण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button