तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा हुलाकी सडक आयोजनाको काममा प्रयोग भएका पाँच वटा एक्साभेटरमा आगजनी

घोराही । मध्यरातमा अज्ञात समूहले पाँच वटा एक्साभेटरमा आगजनी गरेको छ ।

गढवा गाउँपालिका १ जेठानगाउँस्थित राप्ती नदीको किनारमा पार्किङ गरी राखेका पाँच वटा एक्साभेटरमा आगजनी भएको र चार वटा एक्साभेटर पूर्णरुपमा जलेर नष्ट भएका छन् । बाँकी एउटामा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिनुभएको छ ।

घटनास्थल पुग्नुभएका एसपी चन्दले घटनाको छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । घटनामा संलग्नको खोजी कार्य तीव्र पारिएको छ ।

बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट एक्साभेटरमा आगजनी गरिएको छ ।

जसमध्ये एउटामा आंशिक क्षति पुगेको छ भने, बाँकी चार वटा पूर्णरुपमा जलेर नष्ट भएको छ । कल्याण कोट–काला काटे गढवा सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न एक्साभेटरमा आगजनी गरिएको छ ।

आगो सल्किएको देखेपछि निभाउने प्रयास गरियो तर, सवारी साधन जोगाउन नसकेको निर्माण कम्पनीका प्रतिनिधि बलबहादुर चपाईले बताउनुभयो । राप्ती नदीमा धमिलो पानी भएकाले तीन दिनदेखि काम भएको थिएन ।

घटनामा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्न रहन सक्ने आशङ्का गरिएको छ । संलग्नको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button