तपाईँ सुन्दै हुनुहुन्छः

मापदण्डभन्दा बाङ्गो पर्खाल निर्माण हुँदै   

भजनी  ।  टीकापुरको खुला मैदानमा शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन एकाइअन्तर्गत निर्माण भइरहेको घेरा पर्खाल मापदण्डविपरीत बाङ्गो निर्माण भएको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर निर्माण कम्पनीले  बाङ्गो पर्खाल बनाएकाे हाे ।

कामदारले काम गर्दै आए पनि आयोजनाको २० प्रतिशत काम हुँदासम्म कामदारकै भरमा काम हुँदा पर्खाल बाङ्गो भएको निर्माण कम्पनीले समेत स्वीकार गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी एकाइ धनगढीले जयमालिका निर्माण सेवा बर्दगोरिया कैलालीसंँग ठेक्का सम्झौता गरेको थियो ।

योजनाको काम बन्दाबन्दीभन्दा पहिले नै शुरु भए पनि बन्दाबन्दी समयमा केही दिन काम रोकिएको तर अहिले निरन्तर काम भइरहेको छ । काम भए पनि अहिलेसम्म योजनाको सूचना पाटीसमेत राखिएको छैन ।

निर्माणको जिम्मा पाएको जयमालिका निर्माण सेवाका प्रबन्धक कमल बटालाले पर्खाल निर्माण गर्दा बाङ्गो भएको स्वीकार गर्दै त्यसलाई भत्काएर पुनः निर्माण गरिने बताउनुभयो ।

स्थानीयवासीले बन्दाबन्दीको मौकामा ठेकेदारले योजनाको काम कमसल र प्राविधिकको इस्टिमेटविना पर्खाल बाङ्गो निर्माण गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि एकाइले साइट इञ्जिनीयरलाई पर्खालको अनुगमन तथा निगरानीका लागि खटाएको छ ।

इञ्जिनीयर सन्तोष जेठाराले टीकापुरमा निर्माण भइरहेको घण्टाघरको अनुगमनमा आफूलाई खटाइएको बताउँदै सो आयोजनाका बारेमा जानकारी नभएको स्पष्ट गर्नुभयो ।

शहरी विकासअन्तर्गत टीकापुरमा सञ्चालन भएका अन्य आयोजनामध्ये दुई ठूला आयोजनाको काम शुरु हुन सकेको छैन । जमरा पुलदेखि बसपार्कसम्मको ६ लेन सडक निर्माणको काम र स्मार्ट सिटीअन्तर्गत निर्माण भइरहेको सडक निर्माणको काम बन्दाबन्दीको समय शुरु भएसँंगै बन्द भए पनि अझै शुरु हुन सकेका छैनन् ।

छ लेन सडक निर्माणको काम विद्युत खम्बाको समस्या देखाउँदै शुरु हुन सकेको छैन भने स्मार्ट सिटीअन्तर्गतको सडक निर्माण सामग्रीको अभाव देखाउँदै पन्छिएका छ ।

वर्षात्को समय शुरु हुनै लाग्दा विकासको काम अलपत्र भएका कारण निकास कतै नहुँदा टीकापुरमा डुबानको जोखिम बढ्ने देखिन्छ । उता अत्याधुनिक बसपार्क निर्माणको काम सम्पन्न हुने अवस्थामा छ भने घण्टाघर निर्माणको काम पनि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button