तपाईँ सुन्दै हुनुहुन्छः

जिसस मकवानपुरले हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले सदरमुकाम हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने भएको छ । जिससमा आईतबार बसेको स्थानिय तह समन्वय बैठकले जिल्लामा बाहिरबाट आउने मकवानपुरका नागरिकलाई बढीमा एक दिनसम्म राख्न मिल्ने गरि ५० बेडको सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिल्लाका सबै स्थानिय तहका प्रमुख÷उपप्रमुख सहितको बैठकले भारत लगायत वैदेशिक रोजगारीबाट जिल्लामा आउने क्रम बढेपछि स्थानिय तहको सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । वैदेशिक रोजगारीबाट फकर्नेहरुलाई सम्बन्धीत स्थानीय तहहरुले व्यवस्थापन गर्नु अघि बढीमा एक दिनसम्म राख्न स्थानिय तहसंगको सहयोग र सहकार्यमा जिससले व्यवस्थापन गर्ने गरि ५० बेड सम्मको होल्डिङ सेन्टर सञ्चालन हुने उहाँले बताउनुभयो । होल्डिङ सेन्टर संचालनका लागि हरेक स्थानिय तहहरुले २ लाख रुपैयाका दरले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा जिल्लामा हालसम्म भए गरेका गतिविधि तथा आइपरेका समस्याहरुका बारेमा छलफल गर्नुका साथै सरकारले जारी गरेको लकडाउनको पालना गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाउँदै अनुशासित भएर जनजिविकालाई सामान्यीकरण गर्ने तर्फ स्थानिय तहहरु अझ बढी कृयाशिल र अग्रसर हुने, तथा स्थानिय तहहरुले बाहिरबाट आएका र आउने सम्भावना भएकाहरुको लगत संकलन तथा आंकलनसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले सबै स्थानीय तहहरुमा भएका क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लाने तथा विदेशबाट आफ्नो घर फर्किएका व्यक्तिहरुलाई दुव्र्यवहार तथा अपमान नगर्न साथै आफ्नो घर, ठाउँमा फर्किने प्रति सकारात्मक धारणा, सभ्य व्यवहार र सकारात्मक सोँच राखि सहयोग गर्न जनचेताना फैलाउने र त्यस्तो अपमानजन्य व्यवहार नगर्न सबैमा आव्हान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, स्थानिय तहका प्रमुख एवम् उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button