तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दीले हेलिप्याड निर्माणको काम प्रभावित   

रूकुमपूर्व । कोभिड –१९ महामारीको जोखिम नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीले रुकुम(पूर्व)मा हेलिप्याड निर्माणको काम प्रभावित बनेको छ ।

सडक सुविधा नपुगेको पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडामा नागरिकलाई सेवा दिनका लागि सडकको विकल्पमा हेलिप्याड निर्माण गर्न लागिएको थियो ।

यही जेठमा हेलिप्याड निर्माणको काम शुरु गर्ने भनिए पनि बन्दाबन्दीले गर्दा गाउँपालिकामा हेलिप्याड निर्माणको काम अगाडि नबढ्ने प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

गाउँघरमा विभिन्न खालका समस्या देखिरहने र त्यस ठाउँमा तत्काल सडक पुग्ने सम्भावना नदेखिएपछि विकल्पका रुपमा हेलिप्याड निर्माणको योजना बनाइएको थियो ।

चालु आर्थिक वर्षमै हेलिप्याड निर्माणको काम सक्ने भनिएको भए पनि बन्दाबन्दीले आवश्यक सामग्री अभाव र हेलिप्याड निर्माण गर्ने सम्बन्धित निकायसँग तालमेल नमिलेका कारण चालु आवमा हेलिप्याड निर्माणको काम नहुने निश्चित भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार अहिलेसम्म सडकले नछोएको १ देखि ९ नम्बर सबै वडामा एक एक हेलिप्याड निर्माण गर्ने लक्ष गाउँपालिकाले लिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको हेलिप्याड निर्माणसम्बन्धी मापदण्डका आधारमै रहेर निर्माण गरिने जनाई चालु आवमा रु १० लाखसमेत विनियोजन गरिएको छ । चौध वटा वडा रहेको पुथाउत्तरगंगाका ९ वटा वडामा हेलिप्याडको आवश्यकता रहेको गाउँपालिकाले जनाएको छ ।

वडाका सबै नागरिकलाई सहज हुने ठाउँमा हेलिप्याड निर्माण गर्न उपयुक्त ठाउँ छनोटका लागि गाउँपालिकाले सम्बन्धित वडाध्यक्षलाई नै जिम्मेवारी दिएको थियो ।

यस्तै वडा नं ५ रिसल्लामा भने आव २०७५/७६ नै हेलिप्याड निर्माण गरिएको छ । हाल उक्त हेलिप्याडबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टरमार्फत बिरामी तथा घाइतेको उद्धार हुने गरेको छ । दशदेखि १४ नम्बर वडामा सडक पुगे पनि बाह्रैमास गाडी भने गुड्ने गरेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button