तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आउने बढेपछि होल्डिङ सेन्टर सञ्चालन गर्ने जिसस मकवानपुरको तयारी

मकवानपुर । भारतबाट आउने क्रम बढेपछि जिल्ला समन्वय समिति मकवानपुरले सदरमुकाम हेटौँडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायत विदेशबाट जिल्लाका विभिन्न स्थानीय तहमा फर्कनेहरूलाई कम्तीमा एक दिन राख्न होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।

मकवानपुरमा पछिल्लो समय भारतबाट फर्किने नागरिकहरू बढ्दो रहेको छ । वैदेशिक रोजगारीबाट फकर्नेहरुलाई सम्बन्धित स्थानीय तहहरूले व्यवस्थापन गर्नु अघि कम्तीमा एक दिनसम्म सदरमुकाममा राख्न ५० बेड सम्मको होल्डिङ सेन्टर सञ्चालन गर्ने सोच बनाइएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

स्थानीय तहहरू तथा जिल्ला स्थित सङ्घ÷संस्थाको सहयोग र सहकार्यमा विशेष गरी भारतबाट रात बेरात आउनेहरूलाई सहज होस भन्ने उद्देश्यका साथ होल्डिङ सेन्टर सञ्चालनको सोच बनाइएको उहाँले बताउनुभयो ।

“भारतबाट आउने क्रममा हेटौँडामै रात पर्ने र आफ्नो घर सम्म पुग्न नसक्ने साथै सम्बन्धित स्थानीय तहहरूले उनीहरूलाई लाने कम्तीमा ४ देखि ८ घण्टा लाग्ने हुँदा सो अवधिकालागि उनीहरूलाई खाने र बस्ने व्यवस्थासहित होल्डिङ गर्न सेन्टर सञ्चालन गर्ने सोचेका हौँ”– प्रमुख खुलालले भन्नुभयो ।

होल्डिङ सेन्टर सञ्चालनका लागि आइतबार स्थानीय तह समन्वय समितिको बैठक बोलाइएको र स्थानीय तहहरूसँग छलफल गरेर थप निर्णयमा पुग्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तह एवम् सङ्घ÷संस्थाहरूको सहयोग र सहभागितामा होल्डिङ सेन्टर सञ्चालन गर्न सके रात–बेरात हेटौँडासम्म आइपुगेका जिल्लाका नागरिकहरूलाई सहज रूपमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिले भने सेन्टरको व्यवस्थापन गर्ने प्रमुख खुलालले बताउनुभयो ।

सशस्त्र प्रहरीलाई क्वारेनटाइन निर्माणका लागि सामग्री उपलब्ध
यसैबिच जिल्ला समन्वय समिति मकवानपुरले हेटौँडा–८ स्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा क्वारेनटाइन सेन्टर सञ्चालनका लागि आवश्यक बन्दो बस्ती सामग्री उपलब्ध गराएको छ ।

पहिले सशस्त्र प्रहरी १४ नम्बर गण बसेको स्थानमा १७ बेडको क्वारेनटाइन सेन्टर निर्माणका लागि आवश्यक बन्दोवस्तीका सामग्री उपलब्ध गराएको हो ।

जिसस प्रमुखको पहलमा प्लान इन्टनेशनल नेपालको हेटौँडा स्थित शाखाले क्वारेनटाइन सञ्चालनका लागि आवश्यक बन्दोबस्तका सामग्रीहरू (ब्ल्याङ्केट, म्याट, हाते तौलिया, बिर्को सहितको २० लिटर बाल्टी) १७ वटाका दरले जिससलाइ उपलब्ध गराइएको थियो । प्लानद्वारा प्राप्त आवश्यक ३४ हजार ७८० रुपैयाँ बराबरको बन्दोवस्तीका सामग्रीहरू जिसस प्रमुख खुलालले सशस्त्र प्रहरी १४ नम्बर गणलाई हस्तान्तरण गर्नुभएको हो ।

जिससले यस अघि पनि प्लान इन्टरनेशनलमार्फत हेटौँडा–१० स्थित फरेष्टि क्याम्पसमा क्वारेनटाइन सञ्चालनका लागि ५० वटाका दरले बन्दोबस्तका सामग्री उपलब्ध गराएको थियो ।

क्वारेनटाइन सञ्चालनका लागि आवश्यक बन्दोबस्तका सामग्री उपलब्ध गराएकोमा प्रमुख खुलालले प्लान इनटरनेशनल नेपाललाई धन्यवाद दिनुभएको छ ।

जिल्ला समन्वय समितिले हेटौँडा–४ कर्रा स्थित श्रमिक माविमा सञ्चालित आइसोलेसन वार्डमा समेत निरन्तर खाद्यान्न लगायत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button