तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक अस्पताल जनकपुरधामबाट हालसम्म २३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालको आइसोलेसनबाट हिजो साँझ १५ जना कोरोना सङ्क्रमितहरू उपचार पश्चात् निको भएर कोरोनालाई पराजित गर्दै घर फर्किएका छन् ।

हिजो साँझ सर्लाहीका १४ जना र जनकपुरधामका एक गरी १५ जना कोरोना मुक्त भएर घर फर्केको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालका संयोजक डा.जामुनप्रसाद सिंहले जानकारी दिनुभयो ।

यसअघि यस अस्पतालबाट विभिन्न जिल्लाका आठ जना कोरोना सङ्क्रमित उपचार गरेर निको भई घर फर्की सकेका छन् ।

हालसम्म २३ जना उपचार पश्चात् निको भएर घर फर्किसकेका छन् ।
जनकपुरधामको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारका लागि १४ जना सङ्क्रमित रहेका छन् । कोरोनाको लेभल २ अस्पताल जनकपुरधाम रहेकाले अब लेभल २ का बिरामीलाई भर्ना गरेर उपचार गरिने संयोजक डा. सिंहले जानकारी दिनुभयो ।

कोरोनाको लेभल १ अर्थात् लक्षण नभएका सङ्क्रमितहरू अन्य ठाउँमा निर्माण गरिइएको आइसोलेसनमा मात्र उपचार हुने र गंभिर प्रकृतिका बिरामीलाई मात्र प्रादेशिक अस्पतालको कोरोना लेभल २ अस्पताल भर्ना गरेर उपचार गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

अस्पतालमा भर्ना भएका अन्य बिरामीहरू पनि चाडै डिस्चार्ज हुने भएको छ । अहिले रहेका कोरोनाको सङ्क्रमितहरूमा खासै लक्षण नदेखिने गरेको छैन । भारतबाट आएका र विभिन्न क्वारेन्टाईनहरुमा रहेका व्यक्तिहरूमा सङ्क्रमण देखिए पनि सङ्क्रमणको स्तर सामान्य प्रकारका रहेका छन् ।

जनकपुरधामको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा आइसियु तथा भेन्टिलेटर सहितको सुविधाहरू रहेका छन् । कूल ४३ वटा आइसोलेसन शय्या रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button