तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन कार्यान्वयन गरिदिन झापाका उद्योगी व्यवसायीसँग कोरोना रोकथाम समितिको आग्रह

झापा । कोरोना भाइरस रोकथाम, उपचार तथा अनुगमन समिति झापाले जेठ ३२ गतेसम्म लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न झापाका उद्योगी व्यवसायीसहित सबैमा अनुरोध गरेको छ ।

आज झापाको बिर्तामोडमा उद्योगी व्यवसायी, राजनीतिक दलका प्रमुख प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रमुखसँग छलफल गर्दै समितिले यस्तो आग्रह गरेको हो ।

समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको सभापतित्वमा भएको छलफलमा उद्योग वाणिज्य सङ्घमार्फत पेस भएको ज्ञापन पत्रको हकमा उद्योग व्यापार सञ्चालन गर्ने मोडालिटीको सुझाव सङ्घीय सरकारमा पठाउने निर्णय भएको जनाइएको छ ।

यस्तै यसअघि भएका सबै निर्णयहरुलाई प्रभावकारीरुपमा एकरूपताका साथ सञ्चालन गर्न सबै पालिकाहरूलाई आग्रह गर्ने छलफलमा निर्णय भएको जनाइएको छ ।

छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रमुख सेनानी अमर जङ्ग थापा, उपअनुसन्धान निर्देशक सुशान्त बराल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियालगायत उद्योगी व्यवसायी तथा राजनीतिक दलका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।

यसअघि झापाका उद्योगी व्यवसायीहरूले २४ गते (आज)देखि झापाका उद्योग व्यवसाय सञ्चालन गर्ने बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button