तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीमा प्रविधियुक्त सङ्क्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने

पोखरा – गण्डकी प्रदेश सरकारले सङ्क्रामक तथा सरुवा रोगको उपचारार्थ नेपाल सरकारसँगको सहकार्यमा प्रयोगशाला परीक्षणसहितको अत्याधुनिक प्रविधियुक्त सङ्क्रामक तथा सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ ।

गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको छ ।

जटिल अवस्थाका गर्भवतीको जीवन रक्षार्थ प्रदेशअन्तर्गतका अस्पतालमा मातृ प्रतिक्षा कक्ष स्थापना गर्दै लगिने सरकारको योजना छ ।

आधारभूत र आकस्मिक मातृ तथा नवजात शिशु स्याहार सेवालाई सुदृढीकरण गर्दै अति दुर्गम र दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको जीवनरक्षाका लागि एयरलिफ्टिङ गरी सुविधामार्फत अस्पतालसम्म पु¥याउने कार्यलाई निरन्तरता दिइने सरकारले भनेको छ ।

गर्भवती, शिशु, बालबालिका, किशोरी र अपाङ्गता भएका व्यक्तिको पोषण स्थितिमा सुधार ल्याउन नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम सञ्चालन गरिने र प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश कायम राख्न खोप कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मनाङ र मुस्ताङका अस्पतालमा दुई र बाँकी सबै जिल्लाका नौ अस्पतालमा पाँच श्ययाको सघन उपचारकक्षको स्थापना गरिने सरकारले भनेको छ । नेपाल सरकारसँगको सहकार्यमा जिल्ला अस्पताललाई २५ देखि ५० श्यया र धवलागिरी अस्पताललाई २०० श्ययाको साधारण अस्पतालमा स्तरोन्नति गर्ने तयारी गरिएको छ ।

पचास श्ययाका अस्पतालमा आँखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्दै लगिने र मिर्गौलापीडित बिरामीका लागि सञ्चालित डायलायसिस सेवालाई प्रभावकारी बनाइने सरकारको योजना छ ।

नेपाल सरकारसँगको सहकार्यमा बागलुङको बुर्तिवाङ, लमजुङको सुन्दरबजार, तनहुँको बन्दीपुर, स्याङ्जाको गल्याङ र भिरकोट तथा गोरखाको आँपपिपल अस्पताललाई सुदृढीकरण गर्न र पोखराको शिशुवामा बाल अस्पताल स्थापना गर्न आवश्यक सहयोग गरिने प्रदेश प्रमुख शेरचनले बताउनुभयो । नवलपुर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सर्पदंश उपचारको व्यवस्था मिलाइने उल्लेख छ ।

नेपाल सरकारसँगको समन्वयमा सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

अर्बुद्धरोग, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीको उपचारका लागि अति गरीब बिरामीलाई आर्थिक सहयोग गर्ने नीतिलाई निरन्तरता दिइने भनिएको छ ।

नेपाल सरकारसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला र मुटुरोगको विशिष्टिकृत उपचार सेवा प्रारम्भ गरिने र प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नवलपुरको मध्यविन्दु अस्पताल, कास्कीको मातृशिशु मितेरी अस्पताल तथा पर्वत, मनाङ र मुस्ताङ जिल्ला अस्पतालका भवन निर्माणकार्यलाई निरन्तरता दिइनेछ ।

आयुर्वेद तथा प्राकृतिक चिकित्सालगायतका वैकल्पिक चिकित्सा सेवालाई समयसापेक्ष र प्रभावकारी बनाउँदै प्रदेशका आयुर्वेद औषधालय र आयुर्वेद स्वास्थ्य केन्द्रलाई १५ श्ययाको चिकित्सालयमा स्तरोन्नति गर्दै लगिने सरकारको योजना छ ।

पोखरा महानगरपालिकाको वडा नं २६ मा आयुर्वेद चिकित्सालयको भवन निर्माणकार्य प्रारम्भ गर्ने सार्वजनिक÷निजी साझेदारीमा जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना कार्य शुरु गरिने सरकारले जनाएको छ ।

स्थानीय तहसँगको साझेदारीमा नसर्ने रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि एकीकृत जनस्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने नीति लिएको सरकारले आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण तथा सामग्री आपूर्तिको व्यवस्था मिलाइने उल्लेख गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button