तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका सात स्वास्थ्यचौकी १५ शय्यामा स्तरोन्नति हुने  

बाजुरा  ।  जिल्लाका सात स्वास्थ्यचौकी स्तरोन्नती हुने भएका छन् । संघीय सरकारले लिएको नीतिअनुरुप ती स्वास्थ्य संस्था १५ शय्यामा विकास हुने भएका छन् । यही आर्थिक वर्षमा भवन निर्माण शुरु हुने गरी बजेटसमेत विनियोजन गरिएको छ ।

जिल्लाका त्रिवेणी नगरपालिकाको तोली स्वास्थ्यचौकी, खप्तड छेडेदह गाउँपालिकाको डोगडी स्वास्थ्यचौकी, स्वामिकार्तिक गाउँपालिकाको जुकोट स्वास्थ्यचौकी, गौमूलको दहकोट स्वास्थ्यचौकी, बडिमालिका नगरपालिकाको चुथी स्वास्थ्यचौकी, हिमाली गाउँपालिकाको रुगिन स्वास्थ्यचौकी र जगन्नाथ गाँउपालिकाको हुनी महती स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति हुने सूचीमा परेका छन् ।

यसअघि नै १५ शय्याको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरिए पनि आगामी आर्थिक वर्षको बजेटमा समेत समावेश गरिएको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले बताउनुभयो ।

 १४ स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री सहयोग
आइपास नेपाल र पिसविन बाजुराले जिल्ला अस्पतालसहित १४ स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री सहयोग गरेको छ । कोरोना संक्रमणको जोखिम घटाउन प्रयोग हुने सरसफाइ तथा सुरक्षा सामग्री प्रत्येक स्वास्थ्य संस्थामै पुगेर सहयोग गरिएको हो ।

स्वास्थ्यचौकीलाई रु १६ हजार ६९८ बराबर तथा जिल्ला अस्पताललाई रु २३ हजार बराबरको सामग्री सहयोग गरिएको आइपास बाजुराका कार्यक्रम संयोजक महेशराज जैशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button