तपाईँ सुन्दै हुनुहुन्छः

विष्णुवीर र अरनिको राजमार्गमा वृक्षरोपण

भक्तपुर । विश्व वातावरण दिवसका अवसरमा मध्यपुरथिमिस्थित बालकुमारी विष्णुवीर वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । बालकुमारी विष्णुवीर वन उपभोक्ता समितिले आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा वनको ‘ख’ ब्लक दुनग क्षेत्रमा विभिन्न जातका फलफूल र मसलाका बिरुवा रोपिएको हो ।

विभिन्न फलफूलका बिरुवा रोप्दै वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले सामुदायिक वन हरियाली तथा आम्दानीको स्रोतसमेत हुने भएकाले फलफूलका बिरुवा रोप्नु उपलब्धिमूलक भएको बताउँदै वन र प्रत्येक घरमा फलफूलको बिरुवा रोप्न सके दोहोरो फाइदा पुग्ने भनाइ राख्नुभयो ।

वन क्षेत्रमा फोहर फाल्ने गरेको देखेपछि उहाँले फोहर उत्पादन गर्नेले कुहिने र नकुहिने विभाजन गरी आफैँले व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सामुदायिक वनमा फोहोर फालेर वातावरण दूषित पार्ने कार्यलाई तत्काल रोक्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बालकुमारी विष्णुवीर वन उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठ, मध्यपुरथिमि नगरपालिका–४ का वडा सदस्य एवं बालकुमारी विष्णुवीर वन उपभोक्ता समितिका कोषाध्यक्ष रामकेशरी श्रेष्ठ, सचिव देवकी श्रेष्ठलगायतले यो सामुदायिक वनलाई जोगाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो । वृक्षरोपणमा एबोकाडो, तेजपत्ता, रुद्राक्ष, ओखरलगायत विभिन्न जातका २५० भन्दा बढी बिरुवा रोपिएको वृक्षरोपणमा सहभागी रत्नकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी हनुमन्ते सफाइ अभियानले आज अरनिको राजमार्गमा खण्डमा वृक्षरोपण गरेको छ । मध्यपुरथिमि–४ राधेराधे क्षेत्रमा सडकको किनारामा वृक्षरोपण गरेको सफाइ अभियानका अभियानकर्मी रुद्र पौडेलले जानकारी दिनुभयो । विश्व वातावरण दिवसका अवसरमा झरी र लकडाउनका बिचमा पनि सामाजिक दूरी कायम गरेर वृक्षरोपण गर्दैै स्वच्छ वातावरणका लागि वृक्षरोपण भन्ने सन्देश प्रवाह गरेको उहाँले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button