तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम चौरजाहारी घटनाको अध्ययन गर्न संसदीय समिति गठन गरिने

फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिमको चौरजाहारी घटनाको विषयमा अध्ययन गर्न संसदीय समिति गठन गर्ने विषयमा सांसदलाई जानकारी गराउनु भएको छ ।

सभामुख सापकोटाले घटनाको अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेस गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग आवश्यक छलफल गरी नियमावली अनुसार संसदीय विशेष समिति गठन गरिने विषयमा सदनलाई जानकारी गराउनु भएको हो ।

बैठकको सुरुमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले रुकुमको चौरजाहारीमा भएको घटनाको निष्पक्ष छानबिनका लागि प्रतिपक्षले सर्वदलीय संसदीय समितिको गठनको माग पटक पटक गरेको भए पनि सुनुवाइ नभएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले रुकुम घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापाले समेत चित्तबुझ्दो जवाफ नदिएको र ६ जनाको हत्या भएको पोस्ट मार्टमले देखाएको भन्दै छानबिनका लागि संसदीय समितिको गठन गर्न पुनः माग गर्नुभयो ।

बैठकमा सीमा विवाद बारेमा त्रिपक्षीय वार्ता गरेर समान खोज्नु पर्ने विषयमा आफूले धारणा राखेको धारणालाई सत्ता पक्षीय दलका सांसदहरुले गलत रूपमा प्रचार गरेको भन्दै सङ्घीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरी र राष्ट्रिय जनता पार्टीका सांसद अमृता अग्रहरीले दुःख व्यक्त गनुृभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button