तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट भित्रिने नागरिक बढेसंगै क्वारेन्टाईन संख्या पनि थपिँदै

कञ्चनपुर । विभिन्न नाका भएर भारतबाट नेपाल भित्रिने नेपाली नागरिकहरुको संख्या बढेसंगै कञ्चनपुरका स्थानीय तहहरुले क्वारेन्टाईनको संख्या पनि थप्दै आएका छन् । यो समाचार तयार गर्दासम्म कञ्चनपुर जिल्लाभर १ सय ७६ स्थानका क्वारेन्टाईनमा ९ हजार ७ सय ९२ बेड संख्या रहेको र त्यहाँ ८ हजार ८ सय ५० जनालाई राखिएको छ । त्यस्तै, १ हजार २ सय १५ जना क्वारेन्टाईनबाट घर फिर्ता भइसकेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म जिल्लाभर ७ सय १८ जनाको स्वाब परीक्षण गरिएको छ भने ३ हजार ३ सय ८८ जनाको आरडिटी परीक्षण गरिएको प्रशासनले जनाएको छ ।

बन्दाबन्दी जारी भएपछि हालसम्म ३० हजार २ सय ५२ परिवारलाई विभिन्न स्थानीय तहहरुले राहत वितरण गरेका छन् । कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिसकेपछि कञ्चनपुरका १४ हजार ८ सय ५४ जना विदेशबाट घर फर्किएको बताइएको छ । भारतमा रहेका नेपाली नागरिकहरु पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने क्रम समेत जारी छ ।

बिहिबार मात्रै पनि गड्डाचौकी नाकाबाट १ हजार २ सय २२ जना नेपाली नागरिकहरु भित्रिएका छन् भने २ सय ४७ जना भारतीय नागरिकहरुलाई सोही नाकाबाट भारत पठाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभएको छ ।

 

बाहिरी जिल्ला र अन्य मुलुकबाट आउने व्यक्तिहरुका लागि होम क्वारेन्टीन कार्यविधि जारी

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बाहिरी जिल्ला, भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुका लागि कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टीन कार्यविधि–२०७७ जारी गरेको छ ।

स्थानीय तहहरुमा रहेका क्वारेन्टीन भरिभराउ हुन थालेपछि होम क्वारेन्टीनमा पनि बस्न सक्ने व्यवस्था मिलाउन कार्यविधि जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो ।

कार्यविधि जारी भएसंगै बाहिरी जिल्ला, भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको समन्वयमा सम्बन्धित घरपरिवार, छरछिमेकी र जनप्रतिनिधिको रोहबरमा कम्तिमा २१ दिनसम्म होम क्वारेन्टीनमा बसाल्न सकिने बाटो खुलेको छ ।

यद्यपि आफ्नो स्थायी ठेगानामा आइसकेपछि सर्वप्रथम होल्डिङ सेन्टरमा बस्नुपर्ने र त्यहाँ रहँदा होम क्वारेन्टीनमा बस्न चाहेमा लिखित निवेदन दिई कार्यविधिको पूर्ण रुपमा पालना गर्ने शर्तमा मात्रै होम क्वारेन्टीनमा बस्ने व्यवस्था मिलाइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button