तपाईँ सुन्दै हुनुहुन्छः

आधारभुत स्वास्थ्य सेवाको पहुँचलाई पुर्नस्थिपित गर्न सरकारलाई समितिको  निर्देशन


काठमाडौं । महिला तथा सामाजिक समितिले स्वास्थ्य जोखिममा रहेकाहरुलाई सहज, सर्वसुलभ एवं नियमित रुपमा आवश्यक उपचारको अनिर्वाय उपचारको व्यवस्था मिलाउन, महामारिको बीचमा पनि आधारभुत स्वास्थ्य सेवाको पहुँचलाई पुर्नस्थिपित गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले समयमा नै उपचार नपाएका कारण गर्भवती, सुत्केरी तथा बालबालिकाको मृत्युदर बढेको भन्दै उच्च जोखिममा भएका नागरिकहरुको जीवन रक्षाका लागि सवै विकल्पहरु प्रयोग गर्न स्वास्थ्य मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई अझै सक्रिय र प्रभावकारी बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै कोरोना संक्रमित जिल्लाबाट आएका अन्य रोगका विरामीलाई पनि अस्पतालले उपचार गर्न नचाहनु, अप्रेसन थिएटरमा पुगेपछी अन्तै रिफर गरिनु, कोरोना रोगको उपचारमा सहानुभुतिपूर्ण व्यवहार नदेखाउनु, एम्बुलेन्सले विरामी बोक्न नचाहनु र सुरक्षाको आवश्यक प्रवन्ध हुदासमेत जिम्मेवार नहुनु पेशा माथि नै घातक हुने भन्दै महामारीबाट पार पाउन सवैलाई जिम्मेवार भई काम गर्न समेत समितिले अनुरोध गरेको छ ।

समितिको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महामारिकाबीच कसैको पनि ज्यान नजाओस भनेर मन्त्रालयले संवेदनशिल र जिम्मेवार भएर काम गरिरहेको बताउनुभयो ।

उहाँले लकडाउनपछी अस्पताल गएर सुत्केरी गराउने महिलाको संख्यामा कमि आएको, गर्भवती र सुत्केरी महिलाको मृत्युदर बढेको भन्दै यसको न्युनिकरणका लागि कार्ययोजना बनाएर अन्तर मन्त्रालयगत रुपमा स्थानीयहलाई समेत परिपत्र गरेर काम अघि बढाएको बताउनुभयो ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको महामारीपछी स्वास्थ्य सुधारका लागि अवसर प्राप्त भएको भन्दै कोरोनाको परीक्षणका लागि सरकार सम्पूर्ण रुपमा लागिरहेको बताउनुभयो ।

उहाँले कोरोना बाहेका अन्य आधारभुत स्वास्थ्य सेवाका लागि पनि सरकारले काम गरिरहेको भन्दै गर्भवती महिला र सुत्केरकिा लागि राष्ट्रिय कार्ययोजना नै बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले कोरोनाको महामारीपछी नागरिकलाई आधारभुत स्वास्थ्य सेवा लिन कठिन भैरहेको, अस्पतालमा सुत्केरी हुने महिलाको संख्यामा कमी आएको र मातृ मृत्युदर बढेको तथा गर्भवती र सुत्केरी महिला स्वास्थ्य सेवाबाट बन्चित हुनु परेको बताउनुभयो ।

कोभिड उपचार गर्ने र अन्य विरामीको उपचार गर्ने अस्पतालको छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने, गर्भवती र सुत्केरीलाई अस्पताल लैजान विशेष व्यवस्था गर्नुपर्ने, समसदायमा कोही विरामी परे नजिक जानै हुदैन र सहयोग गर्नु हुदैन भन्ने मनोविज्ञान र त्रासको अन्तयका लागि सचेतता कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सांसदहरुले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button