तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना निको भई बारा, पर्साका १२ जना डिस्चार्ज

वीरगन्ज । बारा र पर्सा जिल्लामा आज १२ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।

कोरोना निको भई डिस्चार्ज हुनेमा दुई जना नेपाली सेनाका जवान, छ जना प्रहरी, एक जना पत्रकार र तीन जना सर्वसाधारण रहेका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेसन वार्डमा उपचारार्थ भर्ना भएका दुई जना नेपाली सेनाका जवान र तीन जना पर्साको ग्रामीण क्षेत्रका सर्वसाधारण रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

पाँच जना सङ्क्रमितको पिसिआर परीक्षणको क्रममा लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको डा.उपाध्यायले बताउनुभयो ।

अब अस्थायी कोभिड अस्पताल गण्डकमा २७ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

त्यसै गरी आजै बाराको कलैया अस्थायी कोभिड अस्पतालबाट सात जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

डिस्चार्ज हुनेमा जिल्ला प्रहरी कार्यालय बारा कलैयामा कार्यरत छ जना प्रहरी र एक जना पत्रकार रहेका छन् ।

पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रहरी र पत्रकार गरेर सात जनालाई डिस्चार्ज गरिएको कलैया अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र कुमार मण्डलले बताउनुभयो ।

कलैयामा अहिले ५० जना कोरोना सङ्क्रमितको उपचार भइरहेकोमा सात जना निको भएपछि अब ४३ जना बाँकी रहेका छन् ।

गत जेठ ३ गते देखि १२ गतेसम्म सङ्क्रमितहरू अस्पताल भर्ना भएका थिए ।

डिस्चार्ज हुनेमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक र चार जना प्रहरी जवान एक जना सञ्चार कर्मी रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताउनुभयो ।

सङ्क्रमण मुक्त भएकाहरूलाई आज एक कार्यक्रमका बिच अस्थायी कोभिड अस्पतालमा पुगेर बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पगेनी सहितले बिदाइ गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button