तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारको नीति कार्यक्रममाथिको छलफल शुरु

प्रदेश सरकारको नीति कार्यक्रममाथिको छलफल शुरु
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा समेटिएका विषयलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजानेतर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा शुरु भएको आगामी आर्थिक वर्ष २०७७/०७८को नीति कार्यक्रममाथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यले नीति कार्यक्रम समग्रमा राम्रो भएकाले यसको कार्यान्वयन पक्ष प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सत्ता पक्षकै कतिपय सदस्यले समेट्नुपर्ने कतिपय महत्वपूर्ण विषय छुटेकाले नीति कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले नीति तथा कार्यक्रम आकर्षक ढङ्गले लेखिएको भएपनि कार्यान्वयन गर्नमा चुनौती देखिँदा यो समस्याको पोकोको रुपमा आएको टिप्पणी गर्नुभयो ।

प्रतिपक्षी दलका सदस्यले यसअघिका वर्षहरुमा आएका सरकारको नीति कार्यक्रमको कार्यान्वयनको अवस्था अहिलेसम्म निराशाजनक रहेको भन्दै आगामी वर्षको नीति कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा विश्वास नलागेको बताउनुभयो ।

छलफलमा सत्तापक्ष नेकपाका प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, लीलाधर भट्ट, रतनबहादुर थापा, बलदेव रेग्मी, मानबहादुर धामी, देवकी मल्ल, नन्दबहादुर साउद र शान्ति नेपालीले भाग लिनुभएको थियो ।

यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका गोविन्दराज बोहरा, कर्णबहादुर मल्ल, श्यामलाल रानाथारु र राष्ट्रिय जनतापार्टीका कृष्णबहादुर चौधरीले नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिनु भएको थियो ।

यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको आगामी आर्थिक वर्ष २०७७–०७८को नीति कार्यक्रमलाई सभामा छलफल गरियोस् भनी पेश गर्नु भएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

आजको बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर कुन्ती जोशी र कर्णबहादुर मल्लले क्वारेन्टिनमा बसेका नागरिकको स्वास्थ्यप्रति ध्यान नपुगेकै कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको भन्दै मृतकका बालबालिकालाई रेखदेखका साथै उचित राहतको व्यवस्था गर्न र क्वारेन्टिनमा बसेकाको स्वास्थ्यप्रति गम्भीर बन्न ध्यानाकषर्ण गराउनुभयो ।

अर्का सदस्य दीर्घबहादुर सोडारीले कोरोनाको सङ्क्रमण डढेलोको रुपमा देखिन थालेकोले अस्पताल र आइसोलेसन श्ययाको क्षमता बढाउन ध्यानाकर्षण गराउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button