तपाईँ सुन्दै हुनुहुन्छः

अछामका सङ्क्रमित १० जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखी उपचार सुरु

अछाम – कोरोना सङ्क्रमण पुष्टि भएका अछामका १० जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।

मङ्गलवार कोरोना पुष्टि भएका मेल्लेख गाउँपालिकाका–४, कुष्कोटका आठ जना, चौरपाटी गाउँपालिका–२ का एक  जना र अछाम अस्पतालका एम्बुलेन्स चालकलाई आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएको जिल्ला अस्पतालका प्रमुख डा. मनोज विष्टले जानकारी दिनुभयो ।

कुष्कोटमा सङ्क्रमित भएका आठै जनालाई जिल्ला अस्पताल ल्याइएको छ भने चौरपाटी गाउँपालिकाका  दुई जनामध्ये एक  जनामा सामान्य लक्षण देखिएकोले स्थानीय स्वास्थ्य संस्थाबाट उपचार भइरहेको बताइएको छ ।

आइसोलेसनमा रहेका सबै जनाको अवस्था सामान्य रहेकोले हाल उच्च निगरानीका साथ सामान्य उपचार भइरहेको डा. विष्टले बताउनुभयो ।

जेठ ९ गते भारतबाट अछाम पुगेका मेल्लेखका आठै जना स्थानीय क्वारेन्टाईनमा थिए भने चौरपाटीका युवक बयलपाटा अस्पताल हुँदै धनगढीबाट उपचार गरेर फर्केका थिए । एम्बुलेन्स चालक आइतबार बिरामी लिएर धनगढीबाट फर्किएको बताइएको छ । एम्बुलेन्स चालकबाहेकका सङ्क्रमित दुई सातायता मात्र भारतबाट घर आएका हुन् ।

यस्तै, आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएका पञ्चदेवलविनायक नगरपालिकाका तीन जनालाई समेत अछाम अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

तीन जनाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालले जानकारी दिएको छ ।

अछाममा कोरोना पुष्टि भएका १३ जनाको सम्पर्कमा आएकासहित अन्य गरेर दुई सय बढी व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका क्रममा रहेको छ ।

पछिल्लो समय भारत तथा बाहिरी जिल्लाबाट करिब पाच हजार जना अछाम भित्रिएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button