तपाईँ सुन्दै हुनुहुन्छः

दोषीलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं। कानुन न्याय तथा मानव अधिकार समितिले रुकुमको चौरजाहारिमा जातीय विभेदका आधारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले रुकुम घटनापछि बेपत्ता भएका एक जना व्यक्तिको खोजीलाई तीव्रता दिन र घाइतेको निःशुल्क उपचार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले दलित समुदायमाथि श्रृखलावद्ध विभेद र हिंसाका घटनाहरू भइरहेको भन्दै सबै प्रकारका जातीय हिंसाका स्वरूपहरूको अन्त्य गर्नका लागि नेपाल सरकारलाई महाअभियान नै सञ्चालन गरी अघि बढ्न निर्देशन दिएको छ ।

समतिले दलित माथिको हिंसा र विभेद अन्त्यको विषयमा छानबिन गर्न नेपाल प्रहरी भित्र दलित सेल गठन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

यस्तै लकडाउनको समयमा महिला र बालबालिका माथि हिंसा, शोषण, दुर्व्यवहार, र बलात्कारका घटना समेत भएकाले त्यसलाई रोक्न र उनीहरूको सुरक्षाको प्रबन्ध गर्न तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छुट्टै क्वारेनटिनमा राख्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

क्वारेनटिन मापदण्ड अनुरूप सञ्चालन नभएको देखिएको भन्दै तीनै तहको सरकार मिलेर क्वारेनटिनको प्रबन्ध गर्न तथा सुरक्षित आवास, खाना र स्वास्थ्यको अधिकार सुनिश्चित हुने गरी क्वारेनटिनको व्यवस्थापन गर्न नेपाल सरकारलाई कानुन समितिले निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको जानकारी दिनुहुँदै तीनै तहको सरकारले अनुसन्धान गरिरहेको र छानबिन समितिको सन्धान अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले जातीय अन्तर्विरोधका कारण घटना भएको देखिएको भन्दै राज्य कानुन कार्यान्वयन गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

गृह मन्त्री थापाले समाजमा जातीय आधारमा हुने यस्ता घटनाको अन्त्यका लागि मानिसको सोच र संस्कारमा नै परिवर्तन आउनु पर्ने बताउनुभयो ।

छलफलमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम पश्चिममा दलित युवकको हत्याको घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताउनुभयो ।

महान्यायाधिवक्ता खरेलले रुकुम पश्चिमको घटनामा युट्युब र अनलाइन मिडिया मार्फत बाहिर प्रचारमा आए जस्तो अनुसन्धानका क्रममा नदेखिएको समेत बताउनुभयो ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले माया प्रेमको विषयबाट रुकुम घटना उब्जिएको भन्दै घटनामा पीडित पक्षले २० जनाविरुद्ध किटानी जाहेरी दिएको र १८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

घटनाको गाम्भीर्यतालाई हेरेर सङ्घीय प्रहरी इकाई नेपालगन्जबाट एसएसपीको नेतृत्वमा टोली पठाएको र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पनि टोली पठाइएको समेत प्रहरी महानिरीक्षक ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुमको चौरजाहारी घटनाको निष्पक्ष छानबिन हुनु पर्ने, तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

रुकुम चौरजाहारीको घटना मानवता विरोधी घटना भएको भन्दै सांसदहरुले घटनाको छानबिनको संसदीय समिति बनाउनु पर्ने, यस्ता घटना दोहोरिन नदिने तर्फ बहस र छलफल गर्नु पर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button