तपाईँ सुन्दै हुनुहुन्छः

‘कूटनीतिक माध्यमबाट सीमा समस्याको समाधान गर्नुपर्छ’

काठमाडौँ । राष्ट्रियसभा आजको बैठकको विशेष समयमा बोल्दै सांसद नारायणकाजी श्रेष्ठले नेपाली भूमि भारतले अतिक्रमण गरेको र उक्त भूमि फिर्ता ल्याउने बारेमा आज सम्पूर्ण देश एक ठाँउमा रहेको चर्चा गर्दै अब उत्तेजनामा नआएर सफल कूटनीतिकको मार्फत समस्या समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल र भारत बिचको मैत्री सम्बन्धको कुनै विकल्प नभएको र ऐतिहासिक र प्रमाणका आधारमा वार्ता गरेमा समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको सार्वभौमिकता माथि आँच आउने गरी कार्य नगर्ने तर्फ दुवै छिमेकी सचेत रहनुपर्ने र यस अगाडि भएका गलत कार्यहरू सच्याउन तयार रहनुपर्ने बताउनुभयो ।

सांसद अनिता देवकोटाले द्वन्दकालमा लुकाएर र बेवारिसी अवस्थामा रहेका बमहरूका कारण जनधनको क्षति भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भैरबसरन्दर श्रेष्ठले जाजरकोट चौरजहारि घटनामा मृतकहरूलाई कुटिकुटी मारिएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।उहाँले सामाजिक विभेदको घटनाका विरुद्धमा सबै एकठाउमा आउनुपर्ने तर घटनालाई राजनीतिक रङ्ग दिन नहुने बताउनुभयो ।

सांसद शेखरकुमार सिंहले कोरोना महामारीलाई सरकारले गम्भिरताका साथ लिनुपर्ने सुझाव दिँदै लकडाउनका बेला कृषि क्षेत्रमा क्षति न्यूनीकरणका लागि सरकारले पहल नगरेको गुनासो गर्नुभयो ।

सांसद विमला राई पौडेल र दिलकुमारी रावलले अहिलेको अवस्थामा गर्भवती र सुत्केरी महिलाका बारेमा विशेष ध्यान दिन सरकारसँग आगह गर्नुभयो ।

सांसद प्रकाश पन्थले रुकुम घटना छानबिनका लागि संसदीय समितिको माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button