तपाईँ सुन्दै हुनुहुन्छः

थप दुई सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुग्यो

फाइल तस्बिर

काठमाडौँ । आज थप दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई सय १३ जना पुरुष र १३ जना महिला गरी जम्मा दुई सय २६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा.देवकोटाले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १८ जना र कपिलवस्तुका दुई जना गरी जम्मा २० जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका सात जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका नौ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका सात जना, कपिलवस्तुका ३८ जना, महोत्तरीका दुई जना, मकवानपुरका एक जना, सर्लाहीका ३८ जना, सिराहाका पाँच जना र उदयपुरका एक जना गरी जम्मा ९२ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १४ जना, अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक÷एक जना गरी जम्मा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी कावासोतीका दुई जना र विनय त्रिवेणीका एक जना गरी जम्मा तीन जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ जना र जुम्लाका १९ जना गरी जम्मा ४३ जना, प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १७ जना सल्यानका १० जना र सुर्खेतका पाँच जना गरी जम्मा ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ५९ जिल्लाका एक हजार छ सय ६७ जना पुरुष र एक सय ३१ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप एक जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय २१ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज डडेलधुराका २८ वर्षीय पुरुष उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म एक सय ७३ जना पुरुष र ४८ जना महिला कोरोना भाइरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button