तपाईँ सुन्दै हुनुहुन्छः

शनिवार मृत्यु भएका सिन्धुपाल्चोकका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

मेलम्ची । चौतारा साँगाचोकगढी–१३ का शनिवार राति मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

१४ दिन क्वारेनटाइनमा बसेर घर गएका ६८ वर्षका पुरुषको शनिवार राति एक्कासि बिरामी भएर मृत्यु भएको थियो ।

कोरोना आशङ्का गरी उनको स्वाब सङ्कलन गरी हिजो नै परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो । उनको पीसीआर रिपोर्टबाट कोरोना नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई राति श्वासप्रश्वासमा समस्या भएपछि वडामा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । र त्यही नै उनको मृत्यु भएको थियो । उनको हिजो नै दाहसंस्कार गरिएको छ ।

उनी गत वैशाख १० गते काठमाडौँको हरिसिद्धिबाट घरमा आएका थिए । सोही दिन उनलाई चौतारा साँगाचोकगढी–८ मेल चौरको क्वारेनटाइनमा राखिएको थियो ।

वैशाख २४ मा दुई हप्ता पुगेपछि उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

सिन्धुपाल्चोकका क्वारेनटाइनमा एक सय चार जना
सिन्धुपाल्चोकका क्वारेनटाइनमा एक सय चार जना रहेका छन् ।

भारतबाट विभिन्न नाका हुँदै जिल्ला आएका ५७ जनासहित १०४ जनालाई क्वारेनटाइनमा राखिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेनटाइन र क्षेत्रीय क्वारेनटाइन ती व्यक्तिहरू रहेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पछिल्लो समय जुनै ठाउँबाट जिल्ला आए पनि १४ दिन अनिवार्य क्वारेनटाइनमा राख्नै पर्ने डीसीएमसीले निर्णय गरेको थियो ।

जिल्लामा अहिले १५ महिला र ८९ पुरुष नागरिकहरू क्वारेनटाइनमा छन् । मेल चौर स्थित विपद् व्यवस्थापनको भवनको क्वारेनटाइन १५ जना, जिल्ला समन्वय समितिको भवनमा ३० जना, मेलम्ची रिभर रिसोर्टमा २४ जना, दुई किलो स्थित ग्रामीण महिला सृजनशील समूहको भवनमा १६ जना ,जाल्पा देवी माविको क्वारेनटाइनमा १० जना, लिसंखुपाखर ५ को प्राथमिक स्वास्थ्य केन्द्रमा चार जना र जुगलको रत्न राज्य माविको क्वारेनटाइनमा पाँच जना रहेका छन् ।

त्यसै गरी ५ जना मेलम्ची रिभर रिसोर्टको आइसोलेसनमा रहेका छन् ।

यसअघि जिल्लाका क्वारेनटाइनमा बसेर दुई सय ३५ जना घर फर्किसकेका छन् । भने १७ जना आइसोलेसनमा उपचारपछि घर फर्किसकेका छन् ।

जिल्लामा हालसम्म एक हजार ८५ जनाको आरडीटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको छ भने तीन सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

जसमध्ये तीन जनाको आरडीटी पोजेटिभ देखिएको छ । एक जना महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button