तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : जनतालाई रोग र भोकबाट बचाउन सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोरोना नियन्त्रणका लागि बैकल्पिक उपाय अपनाएर जनतालाई रोग र भोक दुवैबाट बचाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्थामा राहत, उद्धार र परीक्षणलाई ध्यान दिनु पर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय मापदण्डको क्वारेनटिन र आइसोलेसनको पर्याप्त व्यवस्थापन गर्न माग गर्नुभयो ।

उहाँहरूले कोरोनाको सङ्क्रमण बढिरहेका तराईका कतिपय जिल्लाहरूमा अस्पताल र प्रभावकारी क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सरकारले कोही भोकै रहँदैन कोही भोकले मर्दैन भनिरहेको अवस्थामा नागरिक भोकले मर्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै सिमानामा रोकिएका नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल ल्याउने प्रबन्ध गर्न सांसदहरुले माग समेत गर्नुभयो ।

सांसदहरुले रुकुम पश्चिमको घटना जातीय विभेदका कारण भएको भन्दै मृतकका परिवारले न्याय मागिरहेकाले सत्य तथ्य छानबिन गर्न संसदीय समितिको माग गर्नुभयो ।

सांसदहरुले कृषि लगाउने समयमा कृषि बिउ, रासायनिक मलको अभाव हुन नदिन र कृषकहरूलाई सहज रूपमा कृषि गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले सिमानामा भारतीय पक्षबाट मिचिएको जमिन फिर्ता गराउन तत्काल पहल सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, बैठकको सुरुमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले रुकुम पश्चिमको चौरजाहारीमा अन्तरजातीय प्रेम सम्बन्ध घटनाको छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समितिको गठन गर्न माग गर्नुभयो ।

सांसद टेकबहादुर बस्नेतले भारतबाट बाँके हुँदै सल्यान आउँदै गरेका नेपालीहरू चढेको सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घाइतेको उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button