तपाईँ सुन्दै हुनुहुन्छः

लगानीका अवसर बढाउँदै सडक तथा पूर्वाधार विकास प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा लगानी विस्तारसहित सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।

सरकारले गैरआवासीय नेपाली सङ्घलाई प्रदेशमा पर्यटन, कृषि ऊर्जा लगायतमा लगानीका लागि आह्वान गरेको बताउँदै उहाँले पोखरामा गैह्रआवासीय नेपाली सङ्घको कार्यकारी समितिको बैठक भई प्रदेशमा लगानीका अवसर सम्बन्धमा छलफल भएको बताउनुभयो । तेह्रौँ दक्षिण एशियाली खेलका आठवटा खेल पोखरामा सम्पन्न भएको र प्रदेशका पदक विजेता र प्रशिक्षकलाई प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहसँगको सहकार्यमा प्रदेशका २२ गाउँपालिका पाँच नगरपालिकामा खेलमैदान र रङ्गशाला निर्माणका काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । प्रदेश समन्वय परिषद्को बैठक तत्काल बस्न नसकेको अवस्थामा परिषद्का तर्फबाट मुख्यमन्त्रीको संयोजकत्वमा गठित सहजीकरण समितिले प्रदेश र स्थानीय तहबीच योजना तर्जुमा, बजेट कार्यान्वयमा समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

स्थानीय तहमा योजना तर्जुमा एकरुपता कायम गर्न प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा गठित स्थानीय तहमा योजना तर्जुमा सहजीकरण समितिले सहयोग गर्दै आएको बताउनुभयो । मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा गठित सहजीकरण समितिले स्थानीय तहमा व्यावहारिक अभ्याससहितका प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

सडक स्तरोन्नति तथा विस्तारअन्तर्गत प्रदेशमा १०८ किलोमिटर सडक कालोपत्र ढलान गरिएको छ भने २०७ किलोमिटर ग्राभेल गरिएको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने गरी ५५२ किमी सडक कालोपत्र गर्ने गरी बहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । सडक सञ्जालले नछोएका गोरखाको चुमनुम्री र मनाङको नार्पाभूमि गाउँपालिकाका केन्द्रसम्म सडक पु¥याउने सरकारको योजना अन्तर्गत त्यसको विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो । मुस्ताङ, पर्वत, कास्की र नवलपुर, नवलपरासी, बर्दघाट सुस्ता पूर्वको जिल्लामा क्रमशः १२३, ३५९, २०८ र २५५ मिटर लम्बाइका झोलुङ्गे पुल निर्माण सम्पन्न भएको नीति तथा कार्यक्रममा भनिएको छ ।

आगामी वर्षभित्र विभिन्न जिल्लामा १२१ झोलुङ्गे पुल निर्माण सम्पन्न गर्नेगरी कार्य अघि बढाइएको छ । भूमिगत सतह र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिञ्चित क्षेत्र विस्तार भएको सरकारले जनाएको छ । आधारभूत खानेपानी नपुगेका स्थानका लागि १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु भएको प्रदेश प्रमुख शेरचनले बताउनुभयो । सरकारको एक घर एक धारा कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण भई दुई लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश उज्यालो प्रदेशको लक्ष्य हासिल गर्ने उद्देश्यले विद्युत्को राष्ट्रिय प्रसारण लाइनको पहुँच पुग्न नसकेको आठ जिल्लाका विभिन्न स्थानमा विद्युत् सेवा पु¥याउने काम भइरहेको उहाँले बताउनुभयो । दुई वर्षभित्र राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको सात स्थानीय तहका एक हजार १६० घरधुरीमा ७५ प्रतिशत सहुलियतमा सोलार प्यानल जडान गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको विद्युत् काठे पोल प्रतिस्थापन गर्दै जाने लक्ष्यअनुरुप ५१ वटा स्थानीय तहलाई १४ हजार ७७० स्टिल पोल उपलब्ध गराइएको थप नौ हजार ९९६ स्टिल पोल उपलब्ध गराउने काम भइरहेको प्रमुख शेरचनले बताउनुभयो । जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म एक हजार ३२० घर निर्माण भई लक्षित वर्गमा हस्तान्तरण भई थप ८१५ निर्माणाधीन रहेको बताउनुभयो । पूर्वाधार विकासअन्तर्गत ७९६ निर्माण आयोजना कार्यान्वयनमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश मातहतका सबै अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति विकास र आधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गर्न स्वास्थ्य क्षेत्र सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको सरकारले जनाएको छ । प्रदेशको राजधानी पोखरामा प्रदेशस्तरीय स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको बताउँदै प्रदेश प्रमुख शेरचनले नवलपुरको रजहरस्थित प्राकृतिक चिकित्सालयको भवन निर्माण तथा स्वास्थ्य उपकरणका लागि सहयोग गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button