तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, १ हजार ५ सय ६७ संक्रमित

हिजो मृत्यु भएका दैलेखका ३५ वर्षीय पुरुष र आज विहान मृत्यु भएकी बाजुराकी २ वर्षीया बालिकामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमण पछि मृत्यू हुनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दैलेखको विद्युत प्राधिकरण भवनको क्यारेन्टाईनमा रहेका ३५ वर्षीय पुरुष र बाजुराको स्थानीय क्वारेन्टाईनमा रहेकी २ वर्षीय बालिकामा आज संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मृतक बालिका ८ दिन अगाडि बुबा–आमासंगै भारत बाट आएर स्थानीय क्वारेन्टाईनमा बसेको अवस्थामा ज्वरो, झाडापखाला तथा श्वासप्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भई उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी, आज थप १ सय ६६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

प्रवक्ता डा. देवकोटाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ र तनहुँका १ जना गरी जम्मा ३ जना, नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी जम्मा ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसैगरी, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत तथा प्रदेश अस्पताल अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ जना र सुर्खेतका १ जना गरी जम्मा २६ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना, भेरी अस्पतलामा गरीएको परीक्षणमा बाँकेका ८ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र बाजुराका २ जना गरी ५ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ४ जना र मोरङका १ जना गरी जम्मा ५ जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २१ जना, रौतहटका २९ जना, सर्लाहीका १० जना र कपिलवस्तुका ४ जना गरी जम्मा ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रलायका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म १ हजार ४ सय ५० जना पुरुष र १ सय १७ जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी आज थप १ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म कूल २ सय २० जना उपचार पछि निको भई घर फर्किएका छन् ।

आज भरतपुर अस्पतालबाट मकवानपुरकी २५ वर्षीय उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

हाल सम्म १ सय ७२ जना पुरुष र ४८ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button