तपाईँ सुन्दै हुनुहुन्छः

बजेट माथिको सामान्य छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल सुरु भएको छ ।

बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट माथिको सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा.खतिवडाले कोरोनाको सङ्क्रमणबाट जीवन रक्षा गर्दै जीवनयापनलाई सहज बनाउने र जनजीवनलाई आवश्यक पर्ने आर्थिक क्रियाकलापहरूलाई निरन्तरता दिने कुरालाई जोड दिँदै बजेट प्रस्तुत गरिएको बताउनुभयो ।

उत्पादनमा सम्पूर्ण आर्थिक स्रोतहरूलाई जोड्दै आत्मनिर्भर अर्थतन्त्र अगाडी बढाउनका लागि कृषिका धेरैजसो बस्तुहरूमा आत्मनिर्भर हुँदै जाने, कृषिमा रोजगारीको अवसर सिर्जना गर्ने कुरालाई बजेटले प्राथमिकतामा राखेको पनि अर्थमन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

अर्थमन्त्री डा.खतिवडाले तत्काल लाभ प्राप्त हुने र जनताले प्रतिफल प्राप्त गर्न सक्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने र आगामी आर्थिक वर्षमा नै निर्माण सम्पन्न हुने चालु आयोजनाहरु र पनि सम्पन्न गर्ने र ठुला आयोजनाहरूलाई पनि निरन्तरता दिई सहज अवस्थामा फेरी अगाडी बढाउन सकिने व्यवस्था गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको बताउनुभयो ।

छलफलमा सत्तापक्ष दलका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट अहिलेको परिस्थिति अनुरुपनै रहेको भन्दै बजेट विगतको तुलनामा खुम्चेर आएको र यसले परिस्थिति सङ्गत रूपले राजस्वमा आउने गिरावट र हाम्रो खर्च गर्न सक्ने क्षमतामा आउने गिरावटलाई ध्यानमा राखेर आएको बताउनुभयो ।

बजेट महत्वकाक्षी नभई सकारात्मक रहेको भए पनि कार्यान्वयन गर्नका लागि भने चुनौतिपूण रहेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सांसद प्रकाशमान सिंहले बजेट कोरोनाको सङ्क्रमणको जोखिम र महामारीका गुज्रिरहेको अवस्थामा आउन सक्ने जोखिमलाई नजर अन्दाज गरेर सरकारले बजेट ल्याएको बताउनुभयो ।

उहाँले कोरोनाको कारण अबको अवस्थामा राजस्व सङ्कलन, अन्तर्राष्ट्रिय सहयोग सहज रूपमा पाउन सक्ने अवस्था नरहेको भन्दै सरकारले कोरोनालाई सहज रूपमा लिएर महत्त्वाकाङ्क्षी ढङ्गले बजेट ल्याएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका संसद् राजेन्द्र महतोले बजेट आम नेपाली जनतालाई उत्साहित हुने गरी बजेट आउन नसकेको भन्दै अहिलेको अवस्थालाई ध्यान नदिई पुरानै कार्यक्रमको निरन्तरता दिने हुने गरी आएको बताउनुभयो ।

सांसद एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बजेट अहिले सङ्कट समाधान गर्ने गरी नभई पुरानालाई नै निरन्तरता दिने गरी आएको भन्दै सैद्धान्तिक रूपमा कोरोनामा बजेट केन्द्रित जस्तो देखिए पनि प्रभावकारी रूपमा बजेट विनियोजन हुन भने नसकेको बताउनुभयो ।

छलफलमा सत्ता पक्षीय दलका सांसदहरुले कोरोनाको महामारीको बिचमा सानो आकारमा बजेट आउनु, खर्च कटौतीको प्रस्ताव राख्नु, स्वास्थ्यमा ९० अर्व छुट्ट्याइनु, राहतका कार्यक्रम तत्कालका लागि प्रतिफल दिने गरी ल्याइनु बजेटको सकारात्मक पक्ष भएले यसको कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँहरूले कोरोनाका कारण स्रोत खुम्चिएको, लकडाउन लम्बिइरहेको अवस्थामा वास्तविकताका आधारमा अर्थतन्त्रलाई चलायमान बनाइराख्ने, मानवीय सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर र लक्ष्य प्राप्त गर्ने गरी बजेट आउनु सकारात्मक भएको भन्दै बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष क्रियाशील बन्नु पर्ने बताउनुभयो ।

प्रतिपक्षी दलका सांसदहरुले सङ्कटको ध्यान नदिई राजस्व बढ्ने अनुमान गरिएको भए पनि त्यसको स्पष्ट आधार दिन नसकिएको बताउँदै वैदेशिक ऋण र अनुदान कुनै ग्यारेन्टी विना नै बढाउन नहुने बताउनुभयो ।

उहाँहरूले परम्परागत भूमि नीति अनुसार बजेट आएको, आजको आवश्यकता पुरा गर्न सरकार स्रोत जुटाउन गम्भीर बन्न नसकेको, अन्तरिम स्रोत बढाउन बजेटले ध्यान नदिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button