तपाईँ सुन्दै हुनुहुन्छः

दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु

म्याग्दी – कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगन भएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान शुरु भएको छ ।

गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगन भएको थियो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा लकडाउनकै बीच बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइएको थियो ।

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको खोप अभियान बेनी नगरपालिकामा शनिबारदेखि शुरु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागको निर्देशनानुसार कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट र स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन भएको लम्सालले बताउनुभयो । उहाँका अनुसार जेठ २१ गतेभित्रै लक्षित सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत २०७६ चैत १० देखि २९ गतेसम्म दादुरा–रुबेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने समयतालिका लकडाउनका कारण प्रभावित भएको थियो ।

अन्य खोप सेवा भने वैशाख दोस्रो सातादेखि नै शुरु भएका छन् । नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर खोप अभियानमा ३६५ खोप केन्द्रमा ७४० खोपकर्ता परिचालन भएका छन् ।

दादुरा–रुबेला रोगविरुद्ध खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट वञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न ९शून्य डोज० सकेको छैन ।

नेपालमा विसं २०३४ मा बिफर उन्मूलनपछि खोप थपिँदै जाने क्रममा हाल ११ खोप सञ्चालनमा रहेको छ । बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकताका साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।

सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुबेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रूपमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो । देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ ।

विसं २०७२ मा म्याग्दी र २०७५ भदौमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button