तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दी जेठ ३२ गतेसम्मः अन्तरराष्ट्रिय उडान असार १६ सम्म बन्द

काठमाडौँ – सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दीलाई यही जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ । पछिल्लो पटक थपिएको बन्दाबन्दीको समय यही जेठ २० राति १२ बजे सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले ‘लकडाउन’ लम्बाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबारबसेको मन्त्रिपरिषद्को बैठकले जेठ मसान्तसम्म बन्दाबन्दी लम्ब्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । बैठकले अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता डा खतिवडाका अनुसार सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गरिने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्नगराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय भएको छ ।

बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने मन्त्री डा खतिवडाको भनाइ छ ।

त्यसैगरी शनिबार बसेको सुरक्षा परिषद्को बैठकमा अन्तरराष्ट्रिय सीमा विवाद तथा कोभिड–१९ सँग सम्बन्धित अन्तरराष्ट्रिय जोखिम र चुनौती सम्बोधन गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खासगरी अहिले सीमा क्षेत्रहरुमा सीमा वारपारका गतिविधि र मान्छेको आवागमनलाई कडाइका साथ पालना गराउन सशस्त्र प्रहरीको गस्ती बढाउने एवं जनशक्ति थप्ने र त्यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button