तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छः मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा प्रवेश गरेको बताउनुभएको छ । भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण तथा बोलपत्र आह्वानसम्बन्धी भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारले सुरुङमार्गमा सहलगानी गर्न सहमती जनाएको विषयले आफूलाई उत्साहित बनाएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले परियोजनाको टेण्डर प्रक्रिया अघिका सम्पूर्ण प्रक्रिया सम्पन्न भएर टेण्डर आह्वानको चरणमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो । छलफलमा मुख्यमन्त्री पौडेलले सुरुङ निर्माणमा केन्द्र सरकारसमेत सहभागी हुने भएपछि बोलपत्र आह्वानको कामलाई दुईतीन दिन पर सार्न निर्देशनसमेत दिनुभयो । सुरुङमार्गमा सङ्घको लगानी कस्तो र कसरी हुने हो त्यसको विषयमा छलफल गरेर मात्रै टेण्डर प्रक्रियामा जाँदा उत्तम हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले अबको ४२ महिनाभित्र सुरुङमार्ग तयार हुने बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धतासहित आफूहरु क्रियाशील रहेको उल्लेख गर्नुभयो । छलफलमा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले बोलपत्र आह्वानको चरणमा पुगेकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेशका प्रमुख सचिव तोयम रायाले काम शुरु गर्नुपूर्व नै सम्भावित जोखिमको आँकलन गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले सुरुङमार्ग हेर्ने छुट्टै समूह बनाएर काम गर्न तथा अन्तिम अवस्था सम्म काममा रहने प्रतिबद्धता जनाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले सुरुङमार्गको टेण्डर प्रक्रिया शुरु गर्न आफूहरु तयार भएको बताउनुभयो । आजभोलि नै बोलपत्र आह्वान गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा सचिव भट्टले परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

कूल रु १९ अर्ब ३२ करोडको लगानीको अनुमान गरिएको सुरुङमर्गको लम्बाइ ३.२ किलोमिटरको हुने जनाइएको छ । उक्त परियोजनाभित्र भीमफेदीदेखि नै बाटो फराकिलो बनाएर दुईवटा सुरुङ, भीमफेदी खोलामा ५२ मिटरको र कुलेखानी खोलामा ३६ मिटरको पुल समेत बनिने जानाइएको छ । त्यस्तै सुरुङको कुलेखानी पट्टीको खण्डमा व्यवस्थित पार्किङ तथा मनोरम उद्यानसमेत निर्माण हुने छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button