तपाईँ सुन्दै हुनुहुन्छः

यस्ता छन् बजेटले समेटेका भक्तपुरमा बिकासका ठूला आयोजना

भक्तपुर । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा भक्तपुर जिल्लामा ठूला आयोजनाहरु सञ्चालनमा ल्याउने भएको छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गर्नुभएको बजेटमा भक्तपुरमा महत्वाकांक्षी ठूला आयोजना संचालन गर्न बजेट विनियोजन भएपछि यसको कार्यान्वयन तत्काल सुरु गर्ने तयारी भएको छ ।

सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार एवं स्तरोन्नतीको लागि रु एकअर्व बजेट विनियोजन गरेको छ । यसका लागि भौतिक तथा यातायात मन्त्रालयबाट रु. एक अर्ब र जाइकाबाट पलाँसे–साँगा सुरुङ्ग मार्गसहित रु.२२ अर्बको लगानीमा यी आयोजना सम्पन्न गरिने भएको छ ।

चाँगुनारायणमा एक लाख र सूर्यविनायकको बालकोटदेखि गुण्डुसम्मको १८ हजार रोपनीसमेत उपत्यकामा चारवटा नयाँ शहरको डिपिआर तयार भइसकेको छ । चाँगुमा लगानी बोर्डमार्फत बिदेशी लगानीकर्ता समेतको रु. एक खर्ब लगानीमा यो आयोजना सम्पन्न गरिने भएको छ । बालकोट–गुण्डु खण्डमा रु.४० अर्ब कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रियस्तरका बैंक मार्फत लगानी हुने भएको छ । आगामी दुईवर्ष भित्र यो आयोजना सम्पन्न हुनेछ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको गठ्ठाघरमा पाँच हजार क्षमताको आधुनिक सभागृहको निर्माण यस वर्षदेखि सुरु हुने भएको छ । शहरी विकास मन्त्रालय मार्फत डिजाइन र डिपिआर सम्पन्न भइसकेकाले ढिला नगरी काम हुने भएको छ ।

चाँगुनारायण नगरपालिकाको दुवाकोटमा ७५० रोपनी क्षेत्रफलमा आधुनिक वीर अस्पतालको भवन निर्माण सुरु हुने भएको हो । चिनियाँ सरकारको सहयोगमा रु. चार अर्बको लगानीमा ३०० शययाको केद्रीय सरुवा रोग अस्पताल निर्माण यसै वर्षदेखि ढिलो नगरी सुरु गरिने भएको छ ।

प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा भक्तपुरमा सुरु हुन लागेका आयोजना यसै वर्ष संचालनमा आउने जानकारी दिदै सांसद बस्नेतले भन्नुभयो । “उपत्यकाभित्र पछाडि परेको भक्तपुरको विकासले विगत तीन वर्षयता निकै तिब्रता पाएको छ, म विगतमा मन्त्री हुँदा र अहिले सांसद भएर आएपछि हामीले अगाडि सारेका योजनाहरुले धमाधम मूर्त रुप पाउँदैछन्, बजेटमा हाम्रा आयोजनालाई समेटिएको छ, भक्तपुरले गर्व गर्ने ठाउँ पाएको छ ।”

कोटेश्वर–जडिबुटीमा सुरुङ मार्ग निर्माण गर्ने बिस्तृत सर्भे भइसकेको जानकारी दिदै सांसद बस्नेतले भौतिक योजना मन्त्रालय र जाइकाको सयुक्त लगानीमा सुरुङ्ग मार्ग तथा आकाशे पुल (फ्लाइ ओभर) निर्माणको काम सुरु गरिने जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई भक्तपुर जिल्लाको अर्को उचित ठाउँमा स्थानान्तरण गरि केन्द्रीय मानव अङ्ग ट्रान्सप्लान्ट केन्द्रका. रुपमा विकास गर्ने भएको छ । यसका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट रु. एक अर्ब बजेट विनियोजन भएको जानकारी दिदै जग्गा व्यबस्थापनको लागि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा छलफल भइरहेको छ । सूर्यविनायक प्राणी उद्यानको डिपिआरको लागि बजेट ब्यबस्थापन भइसकेको जानकारी दिदै यसका लागि बिदेशी लगानीसमेत खोजेर आयोजना निर्माणलाई तिब्रता दिइने भएको उहाँको भनाइ छ ।

त्यसैगरी काठमाडौँबाट सुरु भइसकेको विद्युतीय तारलाई भूमिगत गर्ने कार्य आगामी आर्थिक वर्षमा भक्तपुरमा पनि हुने भएको छ । अर्थमन्त्री डा. खतिवडाले बजेट विनियोजन गरेपछि यो कार्य भक्तपुरमा पनि संचालन हुने भएको हो । ऊर्जा मन्त्रालय अन्तर्गत विश्व बैंकको सहयोगमा भक्तपुरका चारवटै नगरपालिकाका मुख्य शहर र घनाबस्तीमा पहिलो चरणमा विद्युतीय तार भूमिगत गर्न रु. एक अर्व बजेट छुट्टिएकाले यो कार्य यसैवर्ष सुरु हुने भएको हो ।

त्यस्तै हनुमन्ते र मनोहरा करिडोर सडक निर्माण एवं ढल राख्न सरकारले रु. तीन अर्ब रकम बिनियोजन गरेको छ । उच्चस्तरीय वाग्मती सभ्यता र मेलम्ची आयोजना कार्यान्वयन इकाइबाट बजेट छुट्टिएको छ । भक्तपुर र ललितपुरको सिमाना गोदावरी खोलाको बालकोट–इमाडोल खण्ड, घट्टे खोला अन्गर्तत कटुन्जे–दधिकोट–गुण्डु, काँलाचा खोलाअन्तर्गत सूर्यविनायक–सिपाडोल तथा खस्याङ्गखुस्याङ्ग खोलाको भक्तपुर र चाँगुनारायण नगरपालिकाका दुवाकोट–झौखेल खण्डको बिस्तृत सर्वेक्षण गर्ने कार्य भएको छ ।

सरकारले भक्तपुरका चारवटै नगरपालिकामा ऐतिहासिक बस्ती, कला, सँस्कृति र सम्पदा बस्तीको विकास एवं संरक्षण गर्न, पाण्डो बजार क्षेत्रमा रात्रीकालीन पर्यटन क्षेत्र बनाउन, नीलबाराही क्षेत्रमा राष्ट्रिय पर्यटन गन्तव्य एवं साँगाबाट ललितपुरको लाकुरी भञ्ज्याङसम्म शंखधर पदमार्ग निर्माण गर्न र २५ वटा भन्दा बढी मठमन्दिर निर्माण गर्न रु. एक अर्वभन्दा बढीको बजेट बिनियोजन गरेको सांसद बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button