तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा आयोजित ‘दोस्रो राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले समाजमा विद्यमान विकृति, विसंगति र सबै प्रकारको हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरि सकिएको बताउनुभयो ।

\

‘हिंसामुक्त नेपाल निर्माण गर्न सरकारले आवश्यक सबै व्यवस्था मिलाएको छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ ।’ उहाँले लकडाउनका बेला हुने महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय तहसँग सहकार्यमा जोड दिइएको पनि स्मरण गराउनु भयो । मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि पुरुषहरुलाई सचेत बनाउन अभियान नै संचालन गर्ने घोषणा पनि गर्नुभयो ।

कोरोना भाइरसका बेला महिला हत्या र हिंसाजन्य अपराधिक घटना घटेकोमा विश्व समूदायनै चिन्तित रहेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकार प्रतिवद्ध रहेको पनि मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि सरकारले महिलाहरुलाई उद्यमशील बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने तय गरिएको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button