तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १९ पुगे

कास्की – गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । आज बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सङ्क्रमित वर्ष १९ र २१ का दुई पुरुष रहेको दुवै जनालाई मध्यविन्दु अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । बिहीबार साँझ म्याग्दीको मालिका गाउँपालिका घर भइ बेनी नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष ३० का एक पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा हालसम्म बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक सङ्क्रमित छन् । बाग्लुङका दुई भने यसअघि नै उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्याङ्जाको वालिङमा बिहीबार सङ्क्रमण पुष्टि भएका तीनमध्ये ३९ वर्षीया महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको हो ।

स्याङ्जामा महिलाका लागि छुट्टै आइसोलेसनकक्ष नभएकाले उनलाई पोखरा ल्याइएको बताइन्छ । अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार शुरु गरिएको जानकारी दिनुभयो ।

निर्देशक आचार्यले पहिलोपटक सङ्क्रमित बिरामीको उपचार शुरु भएसँगै अस्पतालका अन्य सेवा भने प्रभावित हुने बताउनुभयो ।

अस्पतालमा भीडभाड कम गर्न र सम्भावित सङ्क्रमण रोक्न बहिरङ्ग विभाग ९ओपिडी० को सेवा बन्द गरिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button