तपाईँ सुन्दै हुनुहुन्छः

माछा बिक्री नहुँदा किसान मर्कामा

फाइल तस्बिर

स्याङ्जा – लकडाउन लम्बिएपछि माछा बिक्री गर्न नपाउँदा स्याङ्जाका मत्स्यपालक किसान मर्कामा परेका छन् ।लकडाउन लम्बिँदै गएपछि बजार अभावका कारण उत्पादित माछा बिक्री गर्न नपाएर उनीहरु मर्कामा परेका हुन् ।

माछा बिक्री नहुँदा उनीहरुले माछापालनका लागि बनाइएका पोखरीको सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् । बिक्रीका लागि तयारी भएको माछा पोखरीमै पालिरहनुपर्दा र दाना खुवाइरहनुपर्ने भएकाले किसान थप मर्कामा परेका छन् । आम्दानी लिने बेलामा थप त्यसैमा लगानी गर्नुपर्ने अवस्था आएपछि उत्साहित भएर माछापालन व्यवसायमा लागेका किसान यतिबेला भने निरास बनेका छन् ।

चैत र वैशाख पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र रेष्टुरेन्ट बन्द रहेको र हाटबजारसमेत नचलेपछि माछा पोखरीमै छन् ।

बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र गोदाममा भएको दाना सकिन थालेको गाल्याङ नगरपालिका–७ तारुखोला मत्स्य तथा कृषि फार्म सञ्चालक धनबहादुर मल्लले बताउनुभयो । रु तीन करोडको लगानीमा चार जना मिलेर तारुखोला मत्स्य तथा कृषि फार्म सञ्चालन गरी तारुखोलामा व्यवसायिक रुपमा माछापालन गर्दै आएको बताउँदै उहाँले लकडाउनका कारण आफूहरु मर्कामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरीमा माछा बिक्रीका लागि तयारी अवस्थामा छन् तर के गर्ने बन्दका कारण बिक्री गर्न नपाउँदा माछा पोखरीमै मर्ने अवस्था आएको छ ।” अर्का व्यवसायी तिलप्रसाद गैरेको पनि त्यस्तै गुनासो छ । उहाँले भन्नुभयो, “अरुबेला दैनिक एक क्विन्टलसम्म स्थानीय बजारमा माछा बिक्री गर्ने गरे पनि अहिले बजार अभावमा बेच्न नपाउँदा लामो समयसम्म पोखरीमै पाल्नुपर्ने भएकाले खर्च बढ्नुका साथै दाना खुवाउनसमेत समस्या छ ।”

बाउन्न रोपनी जग्गामा सञ्चालन गरिएको उक्त फार्ममा रहु, ग्राँस कार्ब, सिल्भर कार्ब र नैनी जातका माछा पालिएका छन् । कृषि पेशालाई नै मुख्य व्यवसाय बनाएर काम गरिरहेका किसान लकडाउन लम्बिँदै जाँदा समस्यामा परेका छन् भने उनीहरु किसानका लागि सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने मागसमेत गर्ने गरेका छन् ।

माछापालन व्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसानलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

खाद्यान्नका लागि रोजगार कार्यक्रम
कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका मजदुर काम नपाएर समस्यामा परेपछि गाउँपालिकाले उनीहरुलाई काममा लगाएको छ ।

स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरेर घरपरिवार चलाउँदै आएका घरपरिवालाई राहतको रुपमा खाद्यान्न वितरण गर्दै आए पनि फेदीखोला गाउँपालिकाले भने खाद्यान्नका लागि रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खाद्यान्नका लागि रोजगार कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सुवेदीले भन्नुभयो, “हामी सबैलाई काम दिन चाहन्छौँ, तर बिनापरिश्रम राहतका नाममा खाद्यान्न वितरण गर्दैनौँ । सक्नेले काम गरेर खानुपर्छ लकडाउन कहिलेसम्म जाने हो थाहा छैन । राहतका नाममा वितरण गरेर सरकार र स्थानीय तह कसैले पनि धान्न सक्दैन । त्यसैले क्षमताअनुसारको काममा लगाउने र कामका आधारमा ज्याला दिने गरेका छौँ ।”

गाउँपालिकाले बन्दाबन्दीका कारण काम नपाएकालाई सडक निर्माण गर्ने घोडेटो बाटो बनाउनेदेखि गाउँपालिकाभित्र निर्माण गर्नुपर्ने विभिन्न निर्माणका काममा लगाउने गरेको छ ।

गाउँपालिकाले दक्ष कामदारलाई रु एक हजार र अदक्ष कामदारलाई रु ८०० का दरले दैनिकरूपमा ज्याला दिने र अहिले गाउँपालिकाको विभिन्न वडामा ३५० बढी मजदुरले काम गरिरहेको र यो सङ्ख्यामा अझै वृद्धि हुने गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button