तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा २७ औँ मदन आश्रित स्मृति दिवस मनाइयो

मकवानपुर । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउँदै छ । मदन आश्रित स्मृति दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा पनि मनाइएको छ ।

कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम आयोजना नभए पनि हेटौंडा–११ स्थित सहिद स्मारकमा अवस्थित नेताहरुको सालिकमा पुष्पगुच्छा अपर्ण तथा माल्यार्पण गरेर दिवस मनाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ९ का वडा अध्यक्षलगायत नेताहरुले स्मारक पुगेर स्वर्गीय नेताहरुलाई सम्झनु भएको हो ।

सो अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज)मार्फत लोकतान्त्रिक मार्गमा डोर्याउन मदन भण्डारी र जीवराज आश्रितको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले मदन भण्डारी र जीवराज आश्रित कम्युनिष्ट कार्यकर्ताका लागि आदर्श नेताका रुपमा रहेको भन्दै उहाँको आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा उहाँहरुको निधन भएको थियो ।

मदन -आश्रितको राजनीति सबैका लागि प्रेरणा : मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्व.नेताहरु मदन भण्डारी र जीवराज आश्रितको राजनीति सबैका लागि र सधैंका लागि प्रेरणा बन्ने बताउनुभएको छ ।

२७ औं मदन आश्रित स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री पोडेलले स्व.नेताहरूको राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेर गरिने सेवा भावसहितको राजनीति सबैका लागि र सधैंका लागि प्रेरणा बन्ने बताउनुभएकोे छ ।

स्मृति दिवसका अवसरमा मुख्यमन्त्री पौडेलले तत्कालीन समयमा संसारभर घट्दोक्रममा रहेको कम्युनिष्ट बिचारधारालाई नविन विचार प्रतिपादन गरेर विश्वको कम्युनिष्ट आन्दोलन चलाएमान बनाउने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई नविन विचारमार्फत स्थापित गराउने महान जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्नुभएको छ ।

उहाँले वर्तमान समयमा व्यक्ति र स्वार्थ केन्द्रित राजनीति हावी भइरहेको अवस्थामा स्व.नेताहरूको राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेर गरिने सेवा भावसहितको राजनीति सबैका लागि र सधैंका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मदन भण्डारी फाउण्डेशनद्वारा आश्रमलाई खाद्यान्न सहयोग
स्व. नेता मदन भण्डारीको २७औं स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउण्डेशन मकवानपुरले बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

स्मृति दिवसका अवसरमा फाउण्डेशनले हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतन बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

आज बिहान फाउण्डेशनका जिल्ला अध्यक्ष एवम् जिलला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आश्रमलाई खाद्यान्न समग्री प्रदान गर्नुभएको हो ।

उहाँले आश्रमलाई सात सय ५० केजी चामल, ३७ केजी दाल, २५ केजी नुन र ८० पीस साबुन हस्तान्तरण गर्नुभएको हो ।

मदन भण्डारीको स्मृति दिवसका अवसरमा फाउण्डेशनले हरेक वर्ष आश्रमलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाउने गरिएको भएपनि यो वर्ष भने कोरोनाका कारण औपचारीक कार्यक्रम आयोजना नगरिएको उहाँले बताउनुभयो ।

कोरोनाका कारण आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई समस्या नहोस् भन्ने उदेश्यका साथ खाद्यान्न सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button