तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी उपमहानगरमा अख्तियारको छापा

गोदावरी- धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । कुहिएको चामल वितरण गरेको र राहत सामग्री खरिद प्रक्रियामा अनियमितता समाचार सार्वजनिक भएपछि अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय कञ्चनपुरको टोलीले खाद्यान्न खरिदको टेण्डर सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको प्रवक्ता टोपबहादुर बिष्टले जानकारी दिनुभयो ।
टोलीले उपमहानगरपालिका वडा नम्बर २ र ४ मा वितरणका लागि राखिएको र उपभोक्ताले फिर्ता गरेको खाद्यान्न पनि निरीक्षण गरेको छ । यसअघि कुहिएको र कीरा परेको भन्दै केही परिवारले राहतको चामल फिर्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले अनुगमन गरेका थिए । यी दुई निकायको अनुगमनको मुचुल्का पनि अख्तियारको टोलीले लगेको छ ।
धनगढी उपमहानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो । ठेक्कामा मिलोमतो भएको आशंका पनि गरिएको छ । बोलपत्र दर्ताको समय नसकिदै र मुल्याङकन समेत नगरी उपमहानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको आरोप लगाउदै स्थानीयले ठेक्का प्रक्रियामै मिलेमतो भएकोले छानविन गर्न माग गर्दै आएका छन् ।
उपमहानगरले तीन दिने सूचना जारी गरेर खाद्यान्न आपूर्तिका लागि गरेको बोलपत्रमा ठाकुर एग्रोको मात्रै बोलपत्र परेको थियो । तर १४ वैशाखसम्म बोलपत्र दर्ताको समय तोकिए पनि उपमहानगरको प्रशासन, जिन्सी, खरिद इकाई र लेखा शाखाका कर्मचारीले १२ वैशाखमै ठाकुरको बोलपत्र स्वीकृतिका लागि टिप्पणी उठाएको सार्वजनिक भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button