तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा अत्यावश्यक बाहेकका सवारी साधन र मानिस प्रवेशमा रोक

मकवानपुर । प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने नाकामा आजबाट सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रदेश २ मा ९५ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि ती जिल्लाबाट रातोमाटे नाका हुँदै प्रवेश गर्ने सवारी साधन र मानिसको प्रवेशमा पुर्ण रोक लगाइएको छ ।

अत्यावश्यक सवारी साधनलाई भने रातोमाटे चेकपोष्टमा सेनिटाइजिङ गरेर मात्र प्रवेश गर्न दिइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

अत्यावश्यक बाहेकका अन्य सवारी साधन तथा कोही पनि मानिसहरु हेटौँडा प्रवेश गर्न रोक लगाउन रातोमाटे चेकपोष्ट भन्दा तल चुरीयामाई मन्दिर नजिकै पुर्वपश्चिम राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरिएको उहाँले बताउनुभयो ।

बागमती प्रदेशको राजधानी हेटौँडासँग जोडिएको प्रदेश २ को नाका समेत रहेको उक्त क्षेत्रबाट कोरोना संक्रमितहरु हेटौँडा प्रवेश गर्ने सम्भावना बढेपछि आजबाट उक्त क्षेत्रमा कडाई गरिएको हो ।

प्रदेश २ बाट रातोमाटे नाकाभन्दा मुनी चुरीयामाई मन्दिर आसपासबाट लुकिचोरी हेटौंडा प्रवेश गर्नेको संख्या बढेकाले आजबाट चुरीयामाई मन्दिर नजिकै सुरक्षाकर्मी तैनाथ गरेर प्रवेशमा पुर्ण रोक लगाइएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।

आज बिहान जिसस प्रमुख खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, सुरक्षा प्रमुख सहितको टोली उक्त स्थानमा पुगेर सिमा नाकामा थप कडा गर्न निर्देशन दिनुभएको छ ।

आज बिहान अत्यावश्यक बाहेकका अन्य सवारी साधन, सवारी चालक र सहचालक बाहेक बढी यात्रु बोकेर आएका अन्य सवारी साधन, तथा मानिसहरुलाई फिर्ता पठाइएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

यसअघि हिजो जिसस प्रमुख खुलालकै अग्रसरतामा बसेको सुरक्षा समितिसहित सरोकारवालाहरुको बैठकले ती जिल्लाबाट हेटौंडा प्रवेशमा कडाई गर्ने निर्णय गरेको थियो ।

हिजोको बैठकले वाहिरी जिल्लाबाट हुने मानिसहरुको आवतजावत पुर्णरुपमा रोक लगाउने र सङ्क्रमित जिल्लाबाट कामदार तथा श्रमिकहरु नल्याउने साथै मालवाहक सवारी साधनहरुमा चालक र सहचालक बाहेक अन्य व्यक्तिहरु चढ्न नपाइने निर्णय गरेको थियो ।

साथै हेटौंडा वजार क्षेत्रमा खाद्यान्न,औषधी, विउ विजन, ग्यास र रासाायनिक मलको पसल बाहेक अन्य पसलहरु अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै सङ्क्रमित जिल्लाहरुबाट तरकारी, फलफुल माछा मासु जन्य वस्तुहरु आयातमा रोक लगाउने, हेटौंडा १० स्थित बसपार्कमा रहेको तरकारी वजार भोलीबाट अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

साथै बैठकले प्रदेश २ सँग सीमा जोडिएका मकवानपुरका स्थानीय तहहरुका वडाअध्यक्षहरुको नेतृत्वमा टोल विकास संस्था र अन्य संघ संस्थाहरुको समेत सहभागितामा राजमार्ग बाहेकका स्थानमा कडा निगरानी गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर २ मा सङ्क्रमण बढेपछि बागमती प्रदेशको मन्त्रिपरिषदको हिजोको बैठकले दक्षिणी नाका पुर्ण रुपमा सिल गर्न संघीय सरकारलाई आग्रह समेत गरेको छ ।

साथै कोरोनाको जोखिम बढ्दै गएपछि सर्वसाधारणलाई जानकारी गराउन हेटौंडा उपमहा नगरपालिका लगायत सबै आ–आफ्नो स्थानबाट उपरोक्त निर्णय अनुसार मात्र कार्य गरि गराई कोभिड–१९को माहामारीसँग बच्न बचाउन सबैमा आव्हान समेत गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button