तपाईँ सुन्दै हुनुहुन्छः

पिपिइभित्रको स्वास्थ्यकर्मीको पीडा

घोराही। विश्वभर फैलिएको कोभिड १९ को त्रासमा रहेको विश्व समुदाय यतिखेर महामारीबाट बच्ने उपायको खोजीमा छ । यो सङ्क्रमणबाट बच्न मानिसले रोकथामका विभिन्न उपाय अपनाइरहेको छ । सङ्क्रमितहरुसँगै प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मी भने अझ बढी सतर्क हुनुपर्ने अवस्था छ । त्यसैले सबैजसो स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई पिपिइ (व्यक्तिगत सुरक्षा कवच) उपलब्ध गराइएको छ । तर यो वैशाख/जेठको उखरमाउलो गर्मीमा पिपिइ लगाउँदा निकै गाह्रो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
पहिले कपडाबाट बनेको एप्रोन लगाउने स्वास्थ्यकर्मीहरु अहिले प्लास्टिक वा त्यस्तै हावा नछिर्ने खालको वस्तुबाट बनेको पिपिइ (पैतालादेखि टाउकोसम्मै) लगाउँछन् । स्वास्थ्य संस्थामा कार्यरत डाक्टर र अन्य स्वास्थ्यकर्मीले आँखा, मुख, नाक र शरीरको सुरक्षाका लागि हावा नछिर्ने एप्रोन, पञ्जा, चस्मा, टोपी, मास्क लगाउँछन् । तर पनि कोरोनाबाट जोगिन लगाइने पिपिइभित्र आधाघण्टा पनि बस्न नसकिने अवस्था रहेको स्वास्थ्यकर्मीको दुखेसो छ ।
दाङस्थित नेपाल परिवार नियोजन शाखामा कार्यरत स्टाफ नर्स सरिता तामाङ पिपिइ लगाएर काम गर्न साह्रै समस्या हुने गरेको बताउनुहुन्छ । “पिपिइबाट हावा छिर्दैन, उकुसमुकुस हुन्छ । आधाघण्टा पनि खटेर काम गर्न सकिँदैन । कोरोनाको त्रासले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट त लगाउनै प-यो तर बिहान १० देखि साँझ ५ बजेसम्म रहन गाह्रो छ । हजोआजको यो गर्मीमा टिक्नै सकिँदैन । कतिबेला पिपिइ फुकालौँजस्तो हुन्छ । तर स्वास्थ्य संस्थामा प्रवेश गरेदेखि काम नसकिँदासम्म फुकाल्न मिल्दैन”, उहाँले भन्नुभयो ।
नेपाल परिवार नियोजन दाङ शाखाले दुई साताअघिदेखि नियमित सेवा शुरु गरेको छ । यहाँ गर्भवती जाँच, सुरक्षित गर्भपतन, परिवार नियोजनको अस्थायी साधन वितरण, खोप सेवा शुरु गरिएको छ । त्यहाँका स्वास्थ्यकर्मीले अहिले बिहान १० देखि साँझ ५ बजेसम्म पिपिइ लगाएर काम गरिरहेका छन् । अझ दिनभर सेवा दिएर साँझ घर फर्किंदाको पीडा त झन छँदैछ । कोरोनाकै कारण परिवार आफन्तहरु डराउने गरेको उहाँको अनुभव छ । परिवारका सदस्य र आफन्तले घरमा नआई उहीँ स्वास्थ्य संस्थामै बसेर सेवा दिए पनि हुने भनेर पटक पटक सुनाउने गरेको उहाँले बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले स्थापना गरेको परिवार नियोजन स्वास्थ्य क्लिनिकमा कार्यरत वरिष्ठ स्टाफ नर्स राधा पौडेल पनि पिपिइभित्र रहेर बिरामीलाई सेवा दिन निकै गाह्रो हुने बताउनुहुन्छ । “खुट्टाबाट छिराएर माथि टाउकोसम्म लगाउनुपर्छ । पिपिइ लगाएपछि शौचालय जान पनि मिल्दैन, अरु खानेकुरा त के पानी पिउन पनि मिल्दैन”, उहाँ भन्नुहुन्छ ।
क्लिनिकले साताभर फरक फरक स्वास्थ्य सेवा दिने गरेको छ । गर्भजाँच र बालबालिकालाई खोप लगाउने दिन थाम्नै नसक्नेगरी सेवा लिनेको भीड हुन्छ र त्यस्तो अवस्थामा झन यो कवच लगाउनै पर्नेहुन्छ । तर यस्तो अवस्थामा झनै सकस हुन्छ भन्छन् स्वास्थ्यकर्मीहरु । अस्पतालमा डाक्टर र नर्सले नदेखिने जीवाणुसँग काम गरिरहेका हुन्छन् । ती जीवाणुसँग उनीहरु लड्नुपर्ने हुन्छ । त्यही जीवाणुसँग जोगिनका लागि डाक्टर, नर्स र उपचारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीले पिपिइ लगाउनुपर्ने हुन्छ । गुणस्तरीय पिपिइ नै प्लास्टिकबाट बनाइन्छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत ल्याब प्रमुख विनित रेग्मीको घर घोराही बजार नजिकै छ । तर उहाँ घर नगएकोे धेरै भयो । कोराना जाँचको सेवामा खटिनुपर्ने हुँदा आफूसँगै परिवारलाई पनि समस्या होला भनेर घर नगएको उहाँ बताउनुहन्छ । परिवारका सदस्यले पनि डरैडरले होला घर नआउनु उतै सुरक्षित भएर काम गर्नु भन्ने गरेको उहाँले सुनाउनुभयो । “कोरोना भाइरसको स्वास्थ्य जाँच शुरु भएदेखि प्रतिष्ठानमै बसेको छु । घरपरिवार पनि त्रासमा हुनुहुन्छ तर हाम्रो पेसा नै यस्तै छ । आफ्नो पेसागत जिम्मेवारी पूरा गर्नुपर्छ भन्दै परिवारलाई सम्झाउने गरेको छु”, उहाँले बताउनुभयो ।
बिरामी परीक्षण गर्दा पिपिइ लगाउने, शरीरमा औषधि छर्किनेजस्ता धेरै सावधानी अपनाएर काम गर्नुपरेको उहाँ सुनाउनुहुन्छ । “यस्तो महामारीको समय छ, केही कमजोरी भइहाल्ला भनेर निकै सावधानी अपनाउँदै काम गरेका छौँ । शरीरमा औषधि छर्किंदा स्वास्थ्यलाई असर त गर्छ तर कोरोनाको अर्को सङ्क्रमणबाट जोगिन पनि गर्नैपर्ने हुन्छ”, उहाँ सुनाउनुहुन्छ ।
प्रतिष्ठानमा गत वैशाख १६ गतेदेखि कोरोना परीक्षण शुरु भएको हो । हालसम्म २०२ जनाको कोरोना परीक्षण गरिसकेको र एउटा किटबाट रिपोर्ट तयार हुन कम्तीमा ६ घण्टा समय लाग्ने ल्याब प्रमुख रेग्मी बताउनुहुन्छ । प्रतिष्ठानले दैनिक आउने कोरोना भाइरस स्वाबको दैनिक परीक्षण गरिरहेको छ । अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७८ जनाको स्वाब परीक्षण भइरहेको छ । अहिले जिल्लाको घोराही, तुलसीपुर र लमहीमा कोरोना उपचारका लागि आइसोलेशन हस्पिटल स्थापना गरिएको छ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले पनि पिपिइभित्र काम गर्ने गर्छन् ।
तुलसीपर १८ बेलझुण्डीमा स्थापना गरिएको कोरोना अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्मा विश्वभर फैलिएको त्रासका कारणले उपचारत शङ्कास्पद बिरामी र स्वास्थ्यकर्मी सबैमा एकप्रकारको त्रास रहेको बताउनुहुन्छ । विजौरीमा प्रत्येक दिन आइसोलेशनमा भर्ना हुने क्रम चलिरहेको छ । “नयाँ नयाँ तर शङ्कास्पद बिरामी आउँछन् । बिरामी त त्रसित हुने नै भए । स्वास्थ्यकर्मीको हाल पनि उस्तै छ । बिरामीको लक्षणअनुसार उपचार गर्छौं र उनीहरुलाई नडराउन् भन्दै बारम्बार परामर्श पनि गर्ने गर्छौं”, उहाँले भन्नुभयो ।
बिरामी मात्र होइन त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पनि सम्झाउनु परेको (काउन्सिलिङ) गर्नुपरेको उहाँ सुनाउनुहुन्छ । शुरुमा डाक्टरसहित अन्य सबै स्वास्थ्यकर्मी निकै डराउने गरेकामा दाङमा कोरोनाको पोजेटिभका घट्ना नदेखिएका कारण स्वास्थ्यकर्मीमा त्रास कम हुँदै गएको छ उहाँ बताउनुहुन्छ ।
कोरोना अस्पतालमा पटक पटक पिपिइ लगाएर बिरामी जाँचका लागि जान नपरोस् भनेर अहिले बेलझुण्डीको कोरोना अस्पतालमा बिरामी बस्ने प्रत्येक कोठामा सिसी क्यामरा जडान गरिएको छ । कोठामा क्यामरा भएको हुँदा चौबीसै घण्टा डाक्टरले बिरामीको अवस्था हेरिरहन्छन् । यस्तै बिरामीलाई डाक्टरको नम्बर उपलब्ध गराइएको छ । केही समस्या हुनेबित्तिकै बिरामीले पनि डाक्टरलाई फोन गर्ने र जाँचका लागि बोलाउने गरेका छन् ।
त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले लगाउने, पिपिइका सामग्रीलाई पटक पटक धोएर पनि काम चलाइरहेको डा शर्माले बताउनुभयो । उहाँले अहिले पोजेटिभ नदेखिएको र देखियो भने पटक पटक फेरेर लगाउनुपर्ने अवस्था आउने बताउनुहुन्छ । त्यही भएर पिपिइ पनि थोरैमात्र खर्च गरेर पछिलाई जोगाएर राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य साधन स्रोत पनि थोरैभन्दा थोरै खर्च गरेर उपचार गरिरहेका छौँ, भविष्यमा जोखिम हुनसक्ने त्रास त सबैमा कायमै छ ।”
स्वास्थ्यकर्मीको परिवारमा कोरोना सर्नसक्ने भन्दै प्रदेश सरकारले त्यहाँ कार्यरत डाक्टरदेखि सरसफाइमा खटिने सबै कर्मचारीलाई खाना र बासको व्यवस्था गरेको छ । हाल अस्पतालमा तीनजना विशेषज्ञ डाक्टर, दुईजना ल्याब असिस्टेन्ट, १२ जना स्टाफ नर्स र अन्य सरसफाइका कर्मचारी भर्ना गरिएको छ । दाङका १० वटै पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा समेत अहिले स्वास्थ्यकर्मी खटिएर काम गरिरहेका छन् । लमहीमा कोरोना अस्पताल, यसैसम्बन्धी प्रयोगशाला र आइसोलेशन स्थापना गरिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खाने बस्नेको व्यवस्था गरिएको छ ।
तर त्यसबाहेकका अन्य स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी दिनभर उपचारमा खटिएर साँझ घर जाने गरेका छन् । घोराही उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले साधन स्रोत र आर्थिक समस्याका कारणले छुट्टै खाने बस्ने व्यवस्था गर्न नसकिएको बताउनुभयो । अहिले घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित अन्य सातवटै गाउँपालिकाले शङ्कास्पद कोरोनाका बिरामी भर्ना गर्न क्वारेन्टाइन स्थापना गरेका छन् । तर स्वास्थ्यकर्मीलाई पर्याप्त सेवा सुुविधा उपलब्ध गराउन सकेका छैनन् ।
तुलसीपुरको बेलझुण्डीमा प्रदेश नं ५ सरकारले १०० श्ययाको कोरोना अस्पताल स्थापना गरेको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीमा कोरोना अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । यस्तै घोराही उपमहानगरपालिले वडा नं ३ को कुुइरेपानीमा १०० श्ययाको क्वारेन्टाइन स्थापना गरेको छ । त्यहाँ एकजना विशेषज्ञ डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ । यस्तै तुलसीपुर उपमहानगरले १०० श्यया, बबइले ५०, लमहीमा ३५, गढवामा १०, राजापुरमा २५, राप्तीमा २५, शान्तिनगरमा १०, दङ्गीशरणमा ३० श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । त्यहाँ तीनदेखि ६ जनासम्म स्वास्थ्यकर्मी खटाइएको छ । दाङमा स्थापना गरिएको क्वारेन्टाइनमा अहिले पनि १४४ जना छन् । उनीहरुलाई खान, बस्न र स्वास्थ्य परीक्षणको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button