तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा टुट्टा किराले किसानलाई हैरान

पर्वत । पर्वतका किसानहरुलाई टुट्टा किराले सताउन थालेको छ । खुल्ला र टनेल दुबै किसिमका तरकारी खेतीमा टुट्टा किराको आक्रमण फैलिन थालेको छ ।

मौसममा आएको खराबीका कारण बिशेष गरी गोलभेँडामा यो किराको संक्रमण बढेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

जिल्लाको कुश्मा नगरपालिका ११ पकुवा, जलजला गाउँपालिका ७ धाईरिङ, ८ नाग्लीवाङ, फर्से लगायतका स्थानमा गोलभेँडामा टुट्टा किराले बालीनाली नष्ट गरेको हो । जलजला ७ का तरकारीको पातमा आक्रमण गर्ने यो किराले बिस्तारै बोट र फल समेत खाएर नोक्सान गर्ने कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।

पुत्ला जातको यो किराले किसानलाई बाली पाक्ने बेलामा सबैभन्दा बढी सताउने गरेको जलजला ७ का सागर सुबेदीले जानकारी दिनुभयो । पकुवाका सूर्यवहादुर केसी, गणेश पौडेल र दिपेन्द्र क्षेत्रीको व्यवसायिक कृषि फर्ममा अत्यधिक रुपमा टुट्टाले आक्रमण गरेको छ ।

रोग नियन्त्रण गर्न किटनाशक विषादीको प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो । धेरै मात्रामा आक्रमण गरेको भए विषादी प्रयोग गर्ने र थोरै मात्रामा भए बजारमा पाईने किरा आकर्षण गर्ने एक प्रकारको पासो थापेर किरा मार्न सकिने रेग्मीले बताउनुभयो ।

आक्रमण रोक्न मोहनी पासो थापेमा नियन्त्रण गर्न सकिन्छ । प्राय जसो धेरै पानी परेको समयमा यो किराको आक्रमण बढ्ने कृषि प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button