तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका भित्रिने भक्तपुरका नाकाहरुको सुरक्षा चेकजाँचको अनुगमन

भक्तपुर । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी सहित तीन वटै सुरक्षा निकायका प्रतिनिधि सहितको टोलीले उपत्यका भित्रिने भक्तपुरका नाकाहरुको अनुगमन गरेको छ । टोलीले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नाला, साँगा र जगाती नाकाहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा गृह मन्त्रालयका सह–प्रवक्ता अधिकारीले कोरोना भाइरसको जोखिम कम गर्न एक जिल्लाबाट अर्को जिल्लामा अनावश्यक रुपमा आवतजावत गर्न रोक लगाइएको बताउनुभयो ।

अहिलेसम्म सुरक्षित रहेको उपत्यकालाई संक्रमणबाट जोगाउन नाकाहरुमा कडाई गरिएको उहाँले बताउनुभयो । मालवाहक सवारी साधन र अत्यावश्यक सवारी साधनमा आउनेहरुको स्वास्थ्य परीक्षण र व्यक्तिगत विवरण राखिसकेपछि मात्रै उपत्यका प्रवेश गर्न दिइने उहाँको भनाई थियो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले संक्रमणलाई मध्यनजर गरी उपत्यकाको विभिन्न नाकाहरुमा कडाई गरिएको जानकारी दिनुभयो । काठमाडौको प्रवेश गर्ने मुख्य नाका नागढुंगा भन्दा पनि जगाती नाकामा प्रहरीले गरेको सुरक्षा चेकजाँचको डीआईजी पोखरेले प्रशंसा गर्नुभयो ।

पास भएका र अति आवश्यक काम बाहेकका सवारी साधनलाई फर्काउने गरिएको छ । भक्तपुरको नाका जगातीबाट उपत्यका भित्रिने सम्पूर्ण यात्रुहरुलाई ओह्रालेर सबैको व्यक्तिगत विवरणसहित ज्वरो नाप्ने काम पछिल्लो समयमा भइरहेको छ ।

जगाती नाका हुदै २४ घण्टामा १७ सय भन्दा बढी सवारी साधनहरु उपत्यका भित्रिएका छन् । अनुगमनका क्रममा नाकामा भइरहेको गतिविधिहरुको बारेमा भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button