तपाईँ सुन्दै हुनुहुन्छः

दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव छैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको छ ।

बुद्ध जयन्तीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसर रहेको बताउँदै सभापति देउवाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

नेपाललगायत विश्वका सबै देश अहिले कोभिड–१९ बाट प्रताडित रहेको बताउँदै उहाँले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएकामा जोड दिनुभएको छ । उच्च मनोबलका साथ आपसी सहकार्य र एकता बिना यो कार्य सम्भव नहुने र यसमा सबै सचेत छौँ भन्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतमबुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र अशान्ति, हत्या तथा हिंसाको विरोध गरौँ भन्दै उहाँले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button