तपाईँ सुन्दै हुनुहुन्छः

झुला घाट नाकाबाट झन्डै एक हजार तीन सय नेपाली स्वदेश फर्किए

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट बिहिबार एक हजार दुई सय ९९ नेपालीहरुको उद्धार गरिएको छ ।

जारी लकडाउनका कारण एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बसिरहेका नेपालीहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण स्वदेश फर्कन नपाएका नागरिकलाई बिहिबार स्वदेश फर्काइएको हो ।

भारतको पिथौरागढ जिल्ला र नेपालका बैतडी र दार्चुलाका स्थानीय प्रशासनहरुबीच भएको सहमति अनुसार सीमामा रहेका नेपालीहरुलाई स्वदेश फर्काइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

झुलाघाट नाकाबाट बैतडीसहित १३ जिल्लाका नागरिकको उद्धार गरिएको छ । झुलाघाट नाकाबाट बैतडीका आठ सय २९, दार्चुलाका ७३, बझाङका दुई सय नौ जना, कैलालीका ३९, कञ्चनपुरका २०, डडेल्धुराका नौ जना र हुम्लाका ३२ जनाको उद्धार गरिएको छ ।

यस्तै मुगुका ३०, बाजुराका १२, दैलेखका दुई, बर्दियाका २१, सुर्खेतका चार जना र अछामका एक जनाको झुलाघाट नाकाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडीका नागरिकहरुलाई सम्बन्धित पालिकाका क्वारेन्टाइनमा बस्ने गरि पठाइएको छ भने बझाङ र डडेल्धुराका नागरिकलाई पनि सम्बन्धित जिल्लामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै अन्य जिल्लाका नागरिकलाई बैतडीकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने पहल भइरहेको र केही जिल्लाका नागरिकलाई भने सम्बन्धित जिल्लामा पठाइएको छ ।

यस्तै धारचुला नाकाबाट एक् हजार दुई सय ९६ नेपाली नागरिकको उद्धार गरिएको छ । धार्चुलाबाट बैतडीका चार सय ७४ जनाको उद्धार गरिएको छ ।

गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण 
अपांगता भएका नागरिकहरुको पुर्नस्थपना केन्द्र बैतडीले सुर्नया गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिनुभयो ।

केन्द्रले गाउँपालिकालाई दुई सय बोतल सेनेटाइजर, एक हजार थान सर्जीकल मास्क, २० थान एन९५ मास्क, एक थान इन्फ्रारेड थर्मामिटर र ७२ गोटा साबुन हस्तान्तरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयो ।

केन्द्रले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई केही सजिलो हुने गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो ।

बर्षात शुरु नहुँदै बर्षाले क्षति पुर्याएका खबर आउन थाले
बर्षात शुरु नहुँदै बैतडीका विभिन्न ठाउँमा बर्षाले क्षति पुर्याएका खबर आउन थालेका छन् । गाउँगाउँमा खनिएका कच्ची सडकहरुले समस्या निम्त्याउन थालेको स्थानीयहरुले बताएका छन् ।

केही दिनदेखि भइरहेको बर्षाले बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ कोटालपानी बस्ती समस्या निम्त्याएको छ ।

सप्याखान –चौथाली सडकको माटो बगेर गाउँमा पुगेपछि समस्या भएको स्थानीयहरुले बताएका छन् । हिजोको बर्षाले सडकबाट माटो र ढुंगा बग्दा चारओटा पानीका मूहानमा क्षति पुर्याएको स्थानीय सुरेश चुनाराले जानकारी दिनुभयो ।

उहाँले पानीका मूहान पुरिएपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ । सडक छेउको माटो र ढुंगा बगेर बस्तीमा पुगेको बताउनुभयो ।

बस्तीमाथि रहेको सडकले गाउँमा समस्या निम्त्याएको स्थानीय गजेन्द्र चुनाराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button