तपाईँ सुन्दै हुनुहुन्छः

युवा समूहको निःशुल्क खाना   

पोखरा – कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी पौरखी युवा समूहद्वारा १० दिनसम्म सञ्चालित निशुल्क खाना वितरणबाट १६ हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।

समूहले प्रत्येक दिन खाना तयारी गरी प्याकिङ गर्दै विभिन्न स्थानमा खानाको अभावमा भोका परेकालाई निः शुल्क खाना खुवाउँदै आएको थियो । नौ जना युवा मिलेर आफ्नै खर्चमा यो सेवा गरिएको थियो ।

 बन्दाबन्दीका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई समूहले खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताउनुभयो ।

खाना खुवाउनका लागि पोखरा महानगरपालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिइएको र सोही अनुसार सोमबार साँझसम्म खाना खुवाइएको उहाँले जानकारी दिनुभयो ।

 समूहले १० दिनसम्म खाना खान नपाएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरी स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पु¥याउने गरिएको समूहका सदस्य विष्णुप्रसाद बरालले बताउनुभयो ।

 उहाँका अनुसार समूहका अन्य सदस्यमा जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णु प्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button