२०७८ साल साउन १० गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

चाँगुनारायण नगरपालिकामा ड्रोनबाट मुख्य बस्ती एवं सडकको सर्वेक्षण सुरु

पुष्करराज बुढाथोकी २०७७ वैशाख १४ गते ९:५३

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्यको सुरुवात गरेको छ ।

नगरपालिकाको वडा नम्बर-२ दुवाकोटबाट उक्त कार्यको सुरु गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

नगरपालिकाका केही क्षेत्रहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको हवाईमार्ग पर्ने र सडकहरुमा हुने सवारी चापको कारण अन्य समयमा यो कार्य क्षेत्रमा निकै चुनौतिपूर्ण हुने भएकोले मुलुकमा भइरहेको लकडाउनको बाबजुत पनि सर्वेक्षण एवं नक्साङ्न कार्य गरिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा सबै स्थानीय तहहरुमा ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखेको यस परियोजनको उपत्यकामा पहिलो र परिक्षण सर्वे चाँगुनारायण नगरपालिकामा गर्न लागिएको नगरपालिको भनाई छ ।

यस परियोजनाको लागि राज्यका अन्य निकायसँगको आवश्यक समन्वय एवं स्वीकृति लिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।

यस परियोजनामा विभिन्न संघ संस्थाहरुले निःशुल्क रुपममा सहयोग गरेका छन् । आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको परियोजना अन्तरगत उडान भइरहेको रुपमा लिई सहजता अपनाउन नगरबासीमा नगरप्रमुख मिश्रले अनुरोध गर्नुभयो ।

यसकार्यबाट भविष्यमा विपत व्यवस्थापन र नगरपालिकाका महत्वपूर्ण स्थानको पहिचान गर्न सहज हुने बताउँदै प्राविधिक उत्तम पुडासैनीले सर्वेक्षण कार्य करिब १५ दिनमा सकिने जानकारी दिनुभयो ।

सम्बन्धित