तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा २ सय ३० को पिसिआर र ४ हजारको आरडिटी परिक्षण

वीरगञ्ज । वीरगञ्जमा २ सय ३० जना भन्दा बढीमा गरिएको पिसिआर परिक्षण र ४ हजार बढीमा भएको र्यापिड डाईनोष्टिक टेष्ट आरडिटी परिक्षणबाट संक्रमित व्यक्तिबाट कोरोना समुदायमा नसरेको प्रमाणित भएको छ ।

विगतमा त्रसित बनेको वीरगञ्जको जनजीवन परिक्षण पछि कोरोना संक्रमण समुदायमा नफैलिएको पुष्टि भएसँगै राहतको अनुभूति भएको छ ।

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की मस्जिद र घुसुकपुर स्थित मस्जिदमा रहेका ३ जना सहित वीरगञ्जको नयाँबस पार्कमा चिया पसल सञ्चालन गर्ने एक महिलामा कोरोना संक्रमण देखिएपछि उनिहरुबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने आशंकामा छपकैया एरिया संगै नयाँ बसपार्क क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणहरुको पिसिआर परिक्षण र्यापिड डाईनोष्टिक टेष्ट आरडिटी परिक्षण गरिएकोमा एक जनालाई पनि पोजेटिभ नदेखिएपछि संक्रमण व्यक्तिबाट समुदायमा नपुगेको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनु भयो ।

छपकैयाको मस्जिदमा बसेका ३ जना जमाति र हाल कैलाली पुगेकी वीरगञ्जमा चिया पसल संचालन गर्ने महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ दिन भइसकेको र उनीहरूको सम्पर्कमा रहेकाहरूलाई खोजेर थ्रोट स्वाब परीक्षण तथा समुदाय स्तरमा र्यापिड डायग्नोस्टिक टेष्ट गरिएकोमा हाल सम्म एक जनालाई पनि संक्रमण नभेटिएको डा.उपाध्यायले बताउनु भयो ।

छपकैयाको मदरसामा रहेका भारतीय जमातिहरु कहाँबाट संक्रमित भए भन्ने कुरा नखुलेपनि उनिबाट छपकैया आसपासको क्षेत्रमा समुदाय स्तरमा संक्रमण नपुगेको २ सय ३० जनाको पिसिआर परिक्षण र ४ हजार भन्दा बढीको र्यापीड डाईनोष्टीक टेष्टले प्रमाणित गरेको उपाध्यायले बताउनु भयो ।

बीरगञ्जका ४ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि त्रसित बनेको बीरगञ्जको जनजीवन अहिले समुदाय स्तरमा कोरोनाको संक्रमण नभेटिएसँगै जनजीवनमा राहत भएको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख एवं नागरिक समाजका अगुवा डा.भगवान यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button