तपाईँ सुन्दै हुनुहुन्छः

बयलपटा अस्पताललाई कोरोना भाइरस स्वाब संकलन बुथ हस्तान्तरण

अछाम । कोरोना भाइरस स्वाब संकलनको लागि नमूना संकलन बुथ अछामको बयलपटा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

गैरसरकारी संस्था एस नेपालको आर्थिक सहयोग र साँफेबगर नगरपालिकाको समन्वयमा नमूना संकलन बुथको निर्माण गरिएको हो ।

एक लाख पाँच हजारको सहयोग उक्त बुथको निर्माण गरिएको हो । बयलपटा अस्पतालमै निर्माण गरिएका उक्त बुथ नगर प्रमुख कुल बहादूर कुँवरले बलयपाटा अस्पतालका मेडिकल निर्देशक डा.विकास गौचनलाई हस्तान्तरण गर्नु भएको एस नेपालका कार्यबाहक अध्यक्ष ढकेन्द्र कुँवरले जानकारी दिनुभयो ।

नमूना संकलन बुथबाट स्वाब संकलन गर्दा कुनै जोखिम नहुने निर्देशक डा.गौचनले जानकारी दिनुभयो । उहाँले बुथ संकलनमा बसेर स्वाब निकाल्दा पिपिई सेटको प्रयोग गर्नु नपर्ने उक्त पैँसाको बचत हुने पनि जानकारी दिनुभयो । एक पिपिई सेटको लागि कम्तिमा १८ हजार देखि २० हजार लागत लाग्ने गरेको छ ।

साथै नगर प्रमुख कुँवरले बयलपटा अस्पतालमा कोरोना भाइरसको चेकजाँचको लागि चाहिने उपकरणको बारेमा निर्देशक डा.गौचनसँग जानकारी लिनु भएको छ ।

यस्तै नमूना संकलन बुथ केन्द्रको लागि चाहिने सम्पूर्ण आवश्यक थप सामग्री दुईरतीन दिनमा अस्पतालमा पुग्ने कार्यवाहक अध्यक्ष कुँवरको भनाई रहेको छ ।

एस नेपालको आर्थिक सहयोगमा नमूना संकलन बुथ जिल्ला अस्पतालमा पनि निर्माण गर्न सुरु गरिएको छ ।

नमूना संकलन बुथ भित्र बत्ति, पंखा र स्वाब संकलनको लागि पिपिई पञ्जाको व्यवस्था समेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button