तपाईँ सुन्दै हुनुहुन्छः

झापाको दमक पाँच दिन बन्द गर्ने निर्णय

झापा । झापाको दमक पाँच दिन बन्द गर्ने निर्णय भएको छ । सम्भावित कोराना भाइरसको जोखिम न्यूनिकरणका लागि नगरपालिकामा बुधबार भएको सर्वपक्षिय छलफलपछि यस्तो निर्णय भएको हो ।

दमक नगरपालिका, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सर्वपक्षिय छलफल बोलाएको थियो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सबैको सहमतिमा यो निर्णय लिइएको बताउनुभयो ।

दमक अब बुधबार र शनिबार तीन घण्टामात्र अति आवश्यकीय दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने पसल खुल्नेछन् । सरकारले तोकेको अति आवश्यकीय सेवा भने सुचारु नै रहने जनाइएको छ ।

बुधबार र शनिबार ११ बजेदेखि २ बजेसम्म मात्र दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसल खुल्न पाउनेछन् । तरकारी पसल पनि खुल्न पाउने छैनन् । यहि नियम तरकारी पनि लागु हुने निर्णय भएको छ ।

घरदैलोमा बिक्रीका लागि भने अनुमति लिएकाहरुले पाउने नरपालिकाका प्रमुख ओलीले बताउनुभयो ।

यसले लकडाउन प्रभावकारी बन्ने अपेक्षा लिइएको नगरपालिकाले जनाएको छ । लकडाउनको समयमा हुनसक्ने कालोबजारी अनुगमन गर्ने र त्यस्तो गर्नेलाई कार्वाही गर्ने पनि निर्णय भएको छ । बजारमा मनपरी रहेको छलफलमा आएपछि यस्तो निर्णय भएको हो ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले निर्णयको स्वागत गर्दै यो पालना गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
छलफलमा संघीय सांसद महेन्द्रकुमारी सुब्बा, प्रदेशसभा सदस्य अर्जुन राई लगायत स्थानीय सुरक्षा निकायका प्रमुखहरु र राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button