तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ मा तीन हजार ८७७ आरडिटी परीक्षण

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारको क्रममा आज मध्याह्नसम्ममा तीन हजार ८७७ को र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ ।

यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा दुई हजार ४०० आरडिटी परीक्षण गरिएको छ भने रौतहट जिल्लामा ३४४ को सो टेस्ट गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो ।

त्यस्तै, सप्तरी जिल्लामा २११, सिरहामा ३०९ जना, महोत्तरीमा १०९ जना, सर्लाहीमा ११६, बारामा १२७ र धनुषामा ३०९ समेत गरी यस प्रदेशमा तीन हजार ८७७ को आरडिटी परीक्षण गरिएको हो ।

सोमध्ये अहिलेसम्म आठ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । ती आठ जनाको पिसिआरबाट परीक्षण गराउँदा सात जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरे बताउनुभयो ।

अहिलेसम्म यस प्रदेशमा ६०६ को पिसिआर मेशिनबाट परीक्षण गराउँदा ६०२ को रिपोर्ट नेगेटिभ आएको, चार जना कोरोनाबाट सङ्क्रमित छन् भने १४ को रिपोर्ट आउन बाँकी रहेको छ । यस प्रदेशमा अहिलेसम्ममा एक हजार ८८ क्वारेन्टाइनमा छन् ।

क्वारेन्टाइनमा बस्नेको सङ्ख्या क्रमिकरुपमा घट्दै गइरहेको भने होम क्वारेन्टाइनमा बस्ने सङ्ख्यामा वृद्धि हुँदै दुई हजार ४९० मा पुगेछ र आइसोलेसनमा ११ जना बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button