तपाईँ सुन्दै हुनुहुन्छः

फागुनमा रेमिटेन्स करिब २ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको आठौं महिना फागुनमा नेपालमा आउने बिप्रेषण रकम करिव २ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको आठ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले गत वर्षको तुलनामा रेमिट्यान्स १.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड आएको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको वृद्धिदर २३.४ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्सको वृद्धिदर भने घटेको छ । कोरोना भाइरसका असरका कारण अहिले रेमिट्यान्स ठप्प भएपनि आठौ महिनासम्म भने रेमिट्यान्समा कोरोनाको खासै असर देखिएको छैन ।

सातौं महिना माघमा ०.६ प्रतिशतले घटेको रेमिट्यान्स आठौं महिनामा भने बढेको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको केन्द्रिय बेंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button