तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा परेको असरले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन शुरु

फाइल तस्बिर

काठमाडौं  ।  सरकारले कोरोनाको कारण वैदेशिक रोजगारीमा परेको असरले नेपालको अर्थतन्त्रमा परेको प्रभावबारे अध्ययन गर्न गठित समितिले काम शुरु गरेको छ ।

कोरोना रोकथाम उच्चस्तरिय समितिको निर्णय अनुसार राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको उच्चस्तरीय ६ सदस्यीय समिति गठन भएको हो ।

समितिलाई वैदेशिक रोजगारीमा परेको प्रत्यक्ष असरले मुलुकको अर्थतन्त्रमा परेको प्रभावको सम्बन्धमा अध्ययन गरी सुधारका लागि राय सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

समितिको पहिलो बैठक शुक्रबार बसेर अध्ययनको खाका तयार पारेको छ ।

समितिले बैदेशिक रोजगारीको अवस्था, गन्तव्य मुलुकमा रोजगारीको विगतको अवस्था र अहिलेको अवस्था तथा देशको अर्थतन्त्रमा रेमिट्यान्सले कुन कुन क्षेत्रमा असर परेको छ भन्ने समग्र पक्षको अध्ययन गरिने समिति संयोजक एवं योजना आयोगका श्रम र समग्र अर्थतन्त्र हेर्ने सदस्य डा फुयालले बताउनुभयो ।

समितिले रेमिट्यान्समा कति व्यक्ति आश्रित छन्, उनीहरू उत्पादनमूलक क्षेत्रमा लाग्न सक्ने अवस्था के छ भन्ने लगायतका विषयमा समितिले अध्ययन गर्ने पनि संयोजक फूयालले जानकारी दिनु भयो । समितिले यही बैशाख महिनाभित्रमा प्रतिवेदन तयार पार्ने गरी काम शुरु गरेको छ ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात ११ महिनामा मुलुकमा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा छ । रोजगार गन्तव्य सहज हुँदै गएको र दक्ष कामदारको संख्यासमेत बढेकोले मुलुकमा भित्रिने रेमिट्यान्स बर्सेनी बढेको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष १७ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।

गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर रेमिट्यान्स नेपाल भित्रिएको थियो भने भारतबाट ८१ करोड डलर रेमिट्यान्स भित्रिएको थियो ।

देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा करिव २५ प्रतिशत बराबरको रेमिट्यान्सको योगदान हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button