तपाईँ सुन्दै हुनुहुन्छः

घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडाई गर्ने र घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वयन गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

“अत्यावश्यक बाहेकका आवतजावत थप कडाइ गर्न र सीमानाकामा अझ कडाइका साथ बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ” मन्त्री ज्ञवालीले भन्नुभयो, “घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।”

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा छिमेकी राष्ट्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गए पनि नेपालमा फैलिन नदिई नियन्त्रणमा राख्ने काम सरकारले चालेको कदम प्रभावकारी रहेको विषयमा छलफल भएको थियो ।

बैठकमा कोरोना रोकथाम समितिले कोरोना फैलिन नदिन प्रभावकारीरुपमा काम गरिरहेको र थप फैलिन नदिन लकडाउनलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button