सल्यानमा एक हजार दुई सय ५९ जनालाई राहत वितरण
सल्यान । सल्यानका विभिन्न स्थानीय तहहरुले दैनिक ज्यालादारी , मजदुरी गरेर जीवकोपार्जन गर्ने र विपन्न समुहलाई राहत वितरण गरेका छन् ।
जिल्लाका तीन स्थानीय तहले एक हजार दुई सय ५९ लाई राहत वितरण गरेका छन् ।
लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाई भोग्दै आएका परिवारहरुको विवरण संकलन गरी राहत वितरण गरिएको स्थानीय तहरुले बताएका छन् ।
शारदा नगरपालिकाले आठ सय ५६, सिद्ध कुमाख गाउँपालिकाले दुई सय ७५ र कपुरकोट गाउँपालिकाले एक सय २८ जनालाई राहत वितरण गरेका छन् ।
असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण भइरहेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो ।
वडास्तरबाट सकंलन भएको तथ्यांकमा पुन छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको उहाँको भनाई छ ।
लगातारको लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएकाहरुलाई राहत वितरण गरेको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो । वितरण प्रक्रियालार्ई एकद्वार प्रणालीबाट लागु गर्नुको साथै पिडितहरु कोही पनि नछुटुन र नदोहोरिउन भन्नेमा गाउँपालिका सचेत रहेको उहाँको भनाई छ ।
अन्य स्थानीय तहहरुले राहत वितरणको तयारी गरी रहेका छन् । राहत वितरणका लागि अहिले तथ्यांक संकलन तथा छानविन भइरहेको स्थानीय तहहरुको भनाई रहेको छ ।
राहत लिनका लागि वडा÷वडाबाट लगत संकलन गरिएको र जनप्रतिनिधिहरुको रोहोवरमा खाद्यन्न सामाग्री वितरण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेका कारण मानिस घर बाहिर निस्किन नपाएको उहाँको भनाई छ ।
आफ्नो आयस्रोत र जायजेथा नभएका, अरुको सहयोग तथा साहारमा बस्दै आएका, व्यक्ति, घरका कुनै पनि व्यक्तिले रोजगारी नभएका, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौ धौ पर्ने व्यक्तिहरु र वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्तिलाई राहत वितरण गरी रहेको स्थानीय तहरुले दावी गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्